

विराटनगर/ आगामी भदौ १४ गतेदेखि देशभर प्रदर्शनमाआउन लागेको नेपाली कथानक चलचित्र ‘वर वधु’ को प्रचार प्रसारका लागि कलाकारसहितको टोली विराटनगर आइपुगेको छ। विराटनगरको सिटी सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्ससहितका कलाकारले फिल्मबारे जानकारी गराउँदै हलसम्म दर्शकलाई पुर्याउन आग्रह गरेका छन्।
निर्देशक मिलन चाम्सले निर्देशित ‘वर वधु’ एक लभ स्टोरीसँगै कमेडी ड्रामा रहेको चलचित्र हो। चलचित्रको कथा रोचक र नयाँ भएको बताउँदै चाम्सले नेपाली चलचित्रप्रेमी दर्शकलाई मनोरञ्जन दिने विश्वास व्यक्त गरे। साथै, चलचित्रले नेपालका साथै युरोपका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको उल्लेख गर्दै, यसले नेपाली समाजलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य रहेको जानकारी दिए।
चलचित्रका मुख्य कलाकारहरू किरण केसी, आचल शर्मा र नव नायक विवेक कर्माचार्यले पनि फिल्मबारे आफ्नो अनुभवहरू साझा गरेका छन्। किरण केसीले आफ्नो ४० वर्ष लामो करियरमा ‘वर वधु’ एक टर्निङ पोइन्ट हुने आशा व्यक्त गरे। अभिनेत्री आचल शर्माले विराटनगरले सधैं माया गरेको भन्दै यस चलचित्र मार्फत थप माया र साथको अपेक्षा गरिन्। नव नायक विवेक कर्माचार्यले आफ्नो पहिलो चलचित्रमा धेरै मेहनतका साथ काम गरेको बताउँदै दर्शकहरूलाई हलमा आएर फिल्म हेरिदिन आग्रह गरे।
चलचित्रको छायांकन सुदिप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठ, ट्रेलर साहिल खान, एक्सन हिमाल केसी, लेखन प्रदीप भारद्वाज, कोरियोग्राफी रविन्द्र न्यौपाने र अनिस स्याङ्देन, कला निर्देशन सन्तोष लामा, र संगीत अर्जुन पोखरेलले गरेका छन्।
फिल्ममा मुख्य कलाकारको रूपमा आचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सीता न्यौपानेको अभिनय रहेको छ।
‘वर वधु’ चलचित्रले नेपाली दर्शकलाई मनोरञ्जन दिने मात्र होइन, नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने लक्ष्य लिएको निर्देशक चाम्सले बताए।