विराटनगर महानगरपालिकाद्वारा कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा सम्पन्न

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, भाद्र १०, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाले कक्षा ११ का विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको आयोजना गरेको छ। यो परीक्षा आदर्श मावि र पोखरिया माविमा तोकिएको केन्द्रमा सम्पन्न भएको हो। महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले परीक्षाको अनुगमन गरे।

महानगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्तिको सुविधा प्रदान गर्ने उद्देश्यले यो परीक्षा सञ्चालन गरेको हो। यसअघि विद्यालयहरूले आफ्नै ढंगले छात्रवृत्ति प्रदान गर्दै आएका थिए, तर केही विद्यालयले यो सुविधा केवल कागजमै सीमित राखेको भन्दै महानगरले गत वर्षदेखि परीक्षामार्फत छात्रवृत्ति वितरण सुरु गरेको हो।

मेयर कोइरालाका अनुसार, “वास्तविक जेहेन्दार, विपन्न, दलितसहितका लक्षित वर्गले छात्रवृत्ति सुविधा पाउन भन्ने महानगरको उद्देश्य हो। त्यसैले, हामीले परीक्षा प्रणाली सुरु गरेका हौं।”

यस वर्ष विराटनगरभित्र सञ्चालित १९ विद्यालयका लागि १,२०७ जना विद्यार्थीले परीक्षा दिएका छन्, जसमा ७२७ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन्। छात्रवृत्ति वितरणमा ३५ प्रतिशत जेहेन्दारका लागि, ३५ प्रतिशत विपन्नका लागि, १० प्रतिशत जनजातिका लागि, ५ प्रतिशत दलितका लागि, ५ प्रतिशत अपाङ्गका लागि, ५ प्रतिशत मुस्लिमका लागि, र ५ प्रतिशत अन्यका लागि छुट्याइएको छ।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार, एक हप्ताभित्र छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]