विराटनगरका सामुदायिक विद्यालय सुधारमा असफल भए मर्ज गरिने: मेयर कोइराला

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र १६, २०८१

विराटनगर/विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताउनु भएको छ ।

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उहाँले अब पनि सुधार नभए मर्चमा लानुको विकल्प नभएको बताउनुभएको छ । वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको वडा क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय रुपान्तरण अभियानलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी रहेको उल्लेख गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसित कार्य सम्पादन सम्झौता गरेको स्मरण गराउनु भयो । गुणस्तर वृद्धिका लागि प्रअ र शिक्षकहरुको मुख्य भूमिका हुने उहाँको भनाइ थियो । ‘सबै सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि हुनुपर्छ । पछिल्लो समय केही विद्यालयले राम्रो प्रगति गरेका छन्,’ उहाँले भन्नुभयो, ‘वडा नम्बर ४ मा पनि गोग्राहा र आधारभूत विद्यालय कञ्चनबारीले राम्रै प्रगति गरिरहेका छन् ।’

मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि विद्यालय–विद्यालयबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जितन थापाले वडाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले रुपान्तरण अभियान सुरु गरेको प्रस्ट पार्नुभयो । उहाँले कार्यक्रममा वडाभित्र सञ्चालित ४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका अध्यक्षलगायतलाई राखेर अभियान सुरु गरिएको बताउनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको गुणस्तर बिना रोजगारीका अवसर प्राप्त हुन नसक्ने बताउनुभयो ।

उहाँले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय तहदेखि नै पढाइको गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायतले महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनु आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सबैले आ–आफ्नो दायित्व पूरा गरेमा शिक्षामा सुधार आउने बताउनुभयो । उहाँले आफूहरुको प्रयासले मधेश प्रदेशका अत्यन्तै कमजोर विद्यालयमा पनि सुधार देखिन थालेको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]