

विराटनगर /नेपाल कुशवाहा कल्याण समाजले मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नं. ४ मा आफ्नै भवन निर्माण सम्पन्न गरेको छ। समाजले करिब १ करोड २५ लाख रुपैयाँ खर्चेर दुई तल्ले भवन निर्माण गरेको हो। यद्यपि, दोस्रो तल्ला भवनको छत ढलान गर्न बाँकी रहेको जानकारी प्राप्त भएको छ।
समाजका मोरङ उपाध्यक्ष शत्रुघनप्रसाद सिंहका अनुसार, भवन निर्माणका लागि विनियोजित रकम अपुग भएकोले दोस्रो तल्लाको छत ढलान कार्य पूरा हुन नसकेको हो। समाजका सदस्यहरूले अब आफ्नै सामुदायिक भवनमा छोरा-छोरीको विवाह, जातीय कार्यक्रम लगायतका गतिविधिहरू गर्न सक्ने भएका छन्, जसले विराटनगरसम्म जानुपर्ने समस्या समाधान भएको छ।
सोमबार आयोजित विशेष समारोहका बीच मोरङ क्षेत्र नं. ४ का संघीय सांसद एवं पूर्व मन्त्री अमनलाल मोदीले नवनिर्मित भवनको उद्घाटन गरेका छन्। कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष राकेश मेहता, केन्द्रिय महासचिव जयप्रकाश महत्तो, केन्द्रिय सदस्य रेणु सिंह, कोशी प्रदेश सभा सदस्य जयनारायण चौधरी र गीता रानी, तथा समाजका मोरङ जिल्ला अध्यक्ष हरिनारायण महत्तो पनि सहभागी थिए।
उक्त भवनको निर्माणले समाजका सदस्यहरूबीच एकता र सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।