

विराटनगर/कान्तिपुर टिभीकी पत्रकार सुशीला पाठकलाई प्रतिष्ठित पीताम्बर-खिलेश्वरी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। यो पुरस्कार नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा प्रदान गरिँदै आएको छ, जसको स्थापना पीताम्बर-खिलेश्वरी प्रतिष्ठानले गरेको हो।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला बल्लभ अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतले एक विशेष समारोहमा पाठकलाई ११ हजार रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरे।
समारोहमा मन्त्री अधिकारीले पत्रकारितालाई बौद्धिक, मर्यादित र जन सरोकारको पेशा भएको भन्दै, पत्रकारहरुले सरकारलाई खबरदारी र जनतालाई सू–सूचित गराउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। प्रमुख जिल्ला अधिकारी भट्टराईले पत्रकारितामा राज्य र समाजको लगानीको आवश्यकता रहेको र सञ्चारकर्मीहरुले सत्यमा आधारित समाचार प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले सञ्चारकर्मीहरुले समाजका पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र हक अधिकारका लागि कलम चलाउनु पर्ने सुझाव दिए।
२०४५ सालदेखि प्रदान गरिँदै आएको यो पुरस्कार पछिल्लो ६ वर्षदेखि नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा प्रदान हुँदै आएको छ। पाठक सहित हालसम्म १९ जना पत्रकारहरु यो पुरस्कारबाट सम्मानित भइसकेका छन्। नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार, यो पुरस्कार प्रत्येक दुई वर्षमा एक पटक प्रदान गरिन्छ।