जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ ;मेयर कोइराला

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, भाद्र २२, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने दाबी गर्नुभयो ।

‘जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ । तब मात्रै देशको विकास हुन्छ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले नीति नियम निर्माण गर्ने हो । त्यसको कार्यान्वयन गर्ने भनेको कर्मचारीहरूले नै हो ।’

कर्मचारी स्थायी सरकार भएको बताउँदै स्थायी सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जनप्रतिनिधिहरू ५–५ वर्षमा जनताबाट अनुमोदित हुनुपर्ने बताउँदै मेयर कोइरालाले भने, ‘कर्मचारीहरूले एकपटक लोकसेवा पास गर्दा भयो तर राजनीति गर्ने हामीले त ५–५ वर्षमा जनअनुमोदित हुनुपर्छ । कर्मचारीहरूले जनतालाई दिने सेवा र कामसित जनप्रतिनिधिको भविष्य जोडिएको हुन्छ ।’

 

कोइरालाले कर्मचारीका समस्या समाधानका लागि आफू सधैं लागिपर्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीका हकअधिकार स्थापित गर्न जस्तोसुकै पहल गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले निजामती कर्मचारीहरू व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दिवसका दिन एकपटक हरेक कर्मचारीले आत्मसमीक्षा गर्नु जरुरी रहेको स्पष्ट पार्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निजामती कर्मचारीहरू अझै पनि व्यावसायिक हुन नसकेको प्रस्ट पार्नुभयो । ‘हामी निजामती सेवामा रहेका कर्मचारीहरू कोही पनि कमजोर छैनौं । सबैको क्षमता छ,’ उनले भने, ‘तर अझै पनि हामी व्यावसायिक हुन सकेका छैनौं ।’

सरकारी कर्मचारीहरूले स्रोत र साधनको अभावका बीच पनि जनतालाई दिने सेवामा कुनै कमी नराखेको भट्टराईको भनाइ थियो । उनले भने, ‘निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू एसीमा बसेर काम गर्छन् । उत्तिकै क्षमता र दक्षता भएको सरकारी कर्मचारी भने तरतरी पसिना चुहाउँदै जनताको सेवा गरिरहेका हुन्छन् । थुप्रै समस्याहरू छन् ।’

कार्यक्रममा निजामती कर्मचारी युनियनका मोरङका अध्यक्ष कृष्ण भट्टराई, आधिकारिक ट्रेड युनियनका अध्यक्ष फडिन्द्र अधिकारी, एकीकृत सरकारी कर्मचारी संगठनका सचिव नेत्र खतिवडा, शालिकराम कोइराला, काशी पराजुलीलगायतले ७ वर्षदेखि निजामती कर्मचारी ऐन संशोधन नहुँदा कर्मचारीहरू अन्यायमा परेको विचार व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]