सुनसरी/ सुनसरीका चर्चित कलाकार तथा साहित्यकार झोटन मेहताको रचना रहेको मैथिली गीत “मिथिलाके बेटी भाग २” को इनरुवा सदरमुकाममा भव्य विमोचन गरिएको छ। प्रमुख अतिथि अनिल पोखरेल र अपन स्वर्ग नेपाल कला संस्कृतिकका अध्यक्ष झोटन मेहता तथा अतिथि एसन मेहताले संयुक्त रूपमा यो गीतको विमोचन गरे।
यस अवसरमा स्थानीय पत्रकारहरू, जजन्यूजका देवराज यादव, गोरखापत्र दैनिकका जयकृष्ण यादव, र राससका अजित कुमार झालाई सम्मानित गरिएको थियो। साथै, १२ जना विशिष्ट कलाकारहरूलाई पनि सम्मान गरियो, जसमा रन्जित गुप्ता, राधा चौधरी, रबिना विक लगायतका कलाकारहरूको नाम समावेश थियो।
“मिथिलाके बेटी भाग २” मेहताले मैथिली तथा मधेसी समुदायमा छोरी-चेलीले भोगिरहेको पीडालाई उजागर गर्दै रचना गरेका छन्। हरुन रसिदको संगीत, गायक बिरेन्द्र झा र माला राजबंसीको स्वरमा यो मौलिक मैथिली गीत प्रस्तुत गरिएको हो।
कलाकार रबिना बिक, विजय माली, अनिता मेहता, र रन्जित गुप्ताले गीतमा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् भने सुजित शाहले छायांकन, रेनु चौधरीले रंग संयोजन र पर्शुराम चौधरीले सम्पादनमा योगदान पुर्याएका छन्।
अपन स्वर्ग नेपाल बहुभाषिक चलचित्र महासंघको प्राविधिक सहयोगमा निर्माण भएको यो गीत छोरीमाथि हुने अत्याचारको मुद्दालाई समर्पित छ। विमोचन तथा सम्मान कार्यक्रममा विशिष्ट साहित्यकारहरू रमेन्द्र कोइराला, छविनाथ रिजाल, वीरेन्द्र झा, मृदुला झा, अर्जुन मेहताको समेत उपस्थिति थियो।
