

सुनबर्षी/सुनबर्षी नगरपालिका वडा नम्बर ७ मा रहेको श्री माध्यमिक विद्यालय बरडंगा अहिले गम्भीर जीर्ण अवस्थामा छ। यो विद्यालयको शैक्षिक र भौतिक स्थिति अत्यन्तै कमजोर देखिएको छ, जसले यहाँ अध्ययनरत २९७ विद्यार्थीहरूको भविष्यलाई प्रत्यक्ष असर पारिरहेको छ।
विद्यालयका प्रध्यापक परण लाल ताजपुरिया पाँच दिनभन्दा बढी समयदेखि विद्यालयमा अनुपस्थित छन्, जसका कारण पठनपाठनमा निकै समस्या देखिएको छ। केही कक्षामा २-३ जना मात्रै विद्यार्थी उपस्थित हुन्छन् भने केही कक्षामा शिक्षकहरू देखापर्दैनन्। यो अवस्थाले विद्यालयको शैक्षिक व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।
विद्यालयको भौतिक स्थिति पनि अत्यन्तै कमजोर छ। कक्षा कोठाहरू जीर्ण अवस्थामा छन्, बोर्ड पुरानो छ र शिक्षण सामग्रीहरूको अभाव छ। शिक्षकहरूले केहि कक्षामा मौखिक रूपमा मात्र पढाइ गरिरहेका छन्, जसले विद्यार्थीहरूको सिकाइमा असर पुर्याएको छ। शौचालयहरूको अवस्था निकै खराब छ, जसले विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा नकारात्मक प्रभाव पारिरहेको छ। खानेपानीको सुविधा पनि राम्रो छैन, विद्यार्थीहरूलाई कलको पानी पिउन बाध्य पारिएको छ। राखिएका धारा बाट सुद्ध पानी अाउदैन।
विद्यालयमा आधारभूत सुविधाहरूको पनि कमी छ। कक्षाकोठामा पंखा, झ्याल, र ढोकाको अभावले गर्दा विद्यार्थीहरू लामखुट्टेको टोकाइ र अन्य समस्याहरूबाट पीडित छन्। कक्षाकोठाहरूमा रंगरोगन छैन, र केही कोठाहरू सुत्ने कोठाका रूपमा प्रयोग गरिएको पाइएको छ। कक्षा कोठा भित्रै बाईक पार्किङ गरि राखिएको छ भने झ्यालमा खुल्ला तरिकाले भित्री बस्त्र सुखाईएको देखिन्छ। यस्तो अवस्थाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई निकै प्रभावित बनाएको छ।
विद्यार्थीहरूलाई खाजा पनि गुणस्तरीय छैन। उनीहरूलाई चटपटे खुवाइन्छ भने विद्यालयको कम्प्युटर ल्याबमा कुनै कम्प्युटर नै छैन, कम्प्युटर ल्याबमा वाल टिभी राखिएको छ । विज्ञान प्रयोगशालामा जालो लागेको छ, र लामो समयदेखि प्रयोगमा छैन। खेल मैदानको अवस्था पनि बिजोक छ, जहाँ पानी जमेको छ र व्यवस्थापनमा कुनै सुधार देखिएको छैन।
विद्यार्थीहरूले शिक्षकहरूलाई खानेपानीको राम्रो व्यवस्था गरिदिन आग्रह गर्दा पनि वेवास्ता गरिएको छ। लामखुट्टेको समस्या, पंखा र झ्यालको अभावका कारण उनीहरू कक्षामा अध्ययन गर्न असजिलो महसुस गर्छन्। लामो समयदेखि केही शिक्षकहरू पनि विद्यालयमा अनुपस्थित रहेका कारण पठनपाठनमा ठूलो अवरोध आइरहेको छ।
विद्यालयमा सौचालयको अवस्था निकै खराब छ। महिला र पुरुषका लागि छुट्याइएको छैन, र सफाइको अभावले गर्दा विद्यार्थीहरूलाई प्रयोग गर्न गाह्रो भएको छ। सौचालयभित्र गुट्काका खोलहरू फ्याँकिएको छ, जसले वातावरणलाई दूषित बनाएको छ।
सोही वडाका वडा अध्यक्ष अध्यक्ष संजय कुमार सिंह(गान्धी)ले विद्यालयको भौतिक अवस्थाबारे सचेत रहेको बताए पनि स्थानीय सरकार र वडाको निष्क्रियताले विद्यालयको सुधारमा कुनै ठोस पहल भएको देखिँदैन। यद्यपि, उनले विद्यालयलाई व्यवस्थित बनाउन प्रयास गरिरहेको दाबी गरेका छन्।
सुनबर्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि कटेलले नगरपालिकामा शैक्षिक सुधार भइरहेको बताए तापनि, बल्ढङ्गा विद्यालयको वास्तविकता भने भिन्न छ। स्थानीय सरकारले भौतिक र शैक्षिक संरचनामा सुधार गर्ने प्रतिवद्धता जनाएको भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै टाढा देखिन्छ।
यसरी, श्री माध्यमिक विद्यालय बल्ढङ्गाको अवस्था विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर पारिरहेको छ। यदि तत्काल सुधारका उपायहरू अवलम्बन नगरिए, विद्यार्थीहरूको शैक्षिक यात्रा अत्यन्तै चुनौतीपूर्ण बन्न सक्छ।