

विराटनगर/जहदा गाउँपालिका महिला बालबालिका शाखा मझारेको आयोजना र सहास नेपाल समूहको सहकार्यमा जनप्रतिनिधि तथा सरोकारवालासँग बालबालिका संवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापतित्व बाल सञ्जालका उपाध्यक्ष राधिका रिषिदेवले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारी, शिक्षा शाखा संयोजक दीपक खनाल, स्वास्थ्य शाखा संयोजक राजकुमार दास, प्रशासन अधिकृत डिल्ली पोखरेल, महिला बालबालिका शाखा संयोजक प्रतिमा यादव तथा सहास नेपालका प्रतिनिधि गान्धी प्रसाद मण्डलको उपस्थिति रहेको थियो। साथै विभिन्न संस्थाका प्रतिनिधि तथा स्थानीय अग्रजहरू पनि कार्यक्रममा सहभागी थिए।
बालदिवसको अवसरमा आयोजित यस संवाद कार्यक्रममा जहदा गाउँपालिकाका १० वटा विद्यालयका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थीहरूले शिक्षाको गुणस्तर, शिक्षा पद्धति, र बाल अधिकारका विषयमा जनप्रतिनिधिहरूसँग संवाद गर्दै आफ्ना विद्यालय र गाउँका समस्याहरू राखेका थिए।
जनप्रतिनिधिहरूले बाल अधिकारको संरक्षण गर्दै शिक्षाको गुणस्तरमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको सामाजिक सहजकर्ता अभय मगरले सञ्चालन गरेका थिए।
कार्यक्रम बालबालिकाहरूको लागि शिक्षामा सुधार र बाल अधिकार संरक्षणको दिशामा महत्त्वपूर्ण छलफलको थलो बनेको थियो।