

विराटनगर/ कोशी प्रदेश प्रहरी तालिम केन्द्रको तत्वावधानमा साउन २ गतेदेखि संचालन भएको ५६ कार्यदिनको रेडियो अपरेटर ग्रेड थ्री तालिमको १२औं समूहको समापन गरिएको छ। तालिमको समापन कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा असोज ९ गते सम्पन्न भएको हो। प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम बहादुर दाहालको उपस्थितिमा तालिम समापन भएको थियो।
समापन समारोहमा प्रमुख अतिथि दाहालले प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै प्रहरी संगठनमा सूचना प्रवाहका लागि संचार महत्त्वपूर्ण मेरुदण्ड रहेको र समयानुकूल दक्ष जनशक्ति उत्पादन गरी प्रहरी संचार परिचालनलाई सुदृढ, सक्षम, तथा जवाफदेही बनाउन तालिमको आवश्यकता रहेको बताए। उनले तालिममा प्राप्त गरेको ज्ञान र सिपलाई कार्यक्षेत्रमा अक्षरश: पालना गरी जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि उच्च मनोबलका साथ सूचना प्रवाह गर्न निर्देशन दिए।
समारोहका क्रममा प्रमुख अतिथि दाहालले प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्नुका साथै उनीहरूलाई तालिमको प्रमाणपत्र वितरण गरे। यस तालिममा कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ३१ जना पुरुष र ४ जना महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षकहरूको पनि उपस्थिति रहेको थियो।