बालअधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर / बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समिति सभापति गयानन्द मण्डलले संघीयतापछि तीनै तहका सरकारले आफू अनुकूल योजना ल्याउने र कार्यक्रम गर्ने प्रवृत्तिले योजना तथा कार्यक्रमहरू प्रभावकारी हुन नसकेको धारणा राखे ।

उनले तीनै तहका सरकारबीच समन्वयमा कार्यक्रमहरू सञ्चालन भए त्यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेकाा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले कलिला बालबालिकालाई विद्यालय पठाउने प्रचलन बढ्दै जाँदा बालबालिकाको अधिकार हनन् भइरहेको जिकिर गरे । उनले अढाइ वर्षका कलिला बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूको बाल्यकाल निक्कै कष्टकर भइरहेको राईले बताए । विराटनगर महानगरपालिकाका कार्यबाहक मेयर विश्वनाथ भगतले बालबालिकामा लगानी गरेमात्रै देशको भविष्य उज्ज्वल हुने दाबी गरे । अहिलेका बालबालिका भोलिका देशका कर्णधार भएको बताउँदै कार्यबाहक मेयर भगतले तीनै तहको सरकारले बालबालिकाका विषयमा एउटै धारणा बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख कुवेरसिंह खापुङले बालबालिकालाई पठन–पाठन तथा अन्य सन्देशमूलक सामग्रीहरू उनीहरूकै मातृभाषामा लेखिनुपर्ने बताए । खापुङले बालअधिकार संरक्षणका लागि राज्यले विभिन्न खालका प्रयासहरू गरिरहेको जानकारी पनि दिए । उनले प्रहरी जनशक्ति कम हुँदा राज्यले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा समस्या भएको धारणा राखे । कार्यक्रममा आयोजक एकीकृत हातेमालो समाजका संस्थापक अध्यक्ष डिल्लीराम गिरीले राज्यले बालबालिकाका क्षेत्रमा अझै पर्याप्त लगानी गर्न नसकेको दुखेसो पोखे । गिरीले बालबालिकाको मुहारमा खुसी ल्याउन सकेमात्रै मुलुकको भविष्य सुन्दर हुने विचार व्यक्त गरे । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिलालगायतको सम्मान गर्न सकेमात्रै त्यो देश समृद्ध हुने उनको भनाइ थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बालबालिकालाई कस्तो बनाउने भन्ने पहिलो भूमिका अभिभावकको हुने बताए । उनले बालअधिकारको संरक्षणका लागि सवै पक्ष सचेत हुन जरुरी रहेको औंल्याए । सामाजिक विकास मन्त्रालयका सचिव फडिन्द्र खत्रीले प्रदेश सरकार बालबालिकाको हकअधिकार संरक्षण गर्न गम्भीर रहेको उल्लेख गरे । सो अवसरमा मन्त्रालयकी बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख दुर्गा बरालले बाढीपहिरोजस्ता दैविप्रकोपमा बढी बालबालिका प्रभावित हुने गरेको सुनाइन् । उनले सबैको सामूहिक प्रयासले मात्रै बालबालिकाको हकअधिकार संरक्षण हुने उल्लेख गरिन् । कार्यक्रममा बालअधिकारसँग सम्बन्धित कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]