तिहारको उत्सव: भिन्न अनुभव, छुट्टा–छुट्टै कथा

Logo
सरिता कर्मकार प्रकाशित शनिबार, कार्तिक १०, २०८१

विराटनगर/तिहार नजिकिँदै गर्दा घर र गाउँमा छुट्टै माहोल छाउँछ। तर, सबैका लागि तिहारको अनुभव एउटै हुँदैन। घरमै बसेर मनाउनेको रमाइलो र काम वा अध्ययनका कारण घरबाट बाहिर रहेका मानिसहरूको अनुभव फरक हुन्छ। घर बाहिर रहेकाहरूका लागि तिहारको बेला घर जान नपाउनु, परिवारसँग हुन नसक्नु, र आफ्नो गाउँको सम्झना विशेष गरी तीतो अनुभव बन्न पुग्छ।

प्रहरी जवान: अर्जुन कुमार रामको कथा

 

अर्जुन कुमार राम, सुनसरीको बर्जु गाउँपालिका–३ का बासिन्दा हुन्, जो पाँच वर्षदेखि प्रहरी जवानको रूपमा काम गर्दै आएका छन्। अहिले पाँचथर जिल्लामा कार्यरत अर्जुनले यसपालि तिहारको समयमा घर जान पाउनेछैनन्। आफ्नो जिम्मेवारी र ड्युटीको कारण घर र परिवारसँग तिहार मनाउने अवसरबाट वञ्चित भएका उनले भने, “यसपाली तिहारमा घर जान नपाउँदा मन खल्लो भएर आउँछ। घरपरिवारको याद आउँछ अनि मन भारी हुन्छ।”

घरमा हुँदा साथीभाइसँग पटाका पड्काउँदै, देउसी खेल्दै, मिठा खानेकुरा खाँदै मनाउने तिहार अब सम्झनामा मात्र सीमित भएको अर्जुन बताउँछन्। कामले गर्दा व्यस्त जिन्दगी बिताउनु परेको भए पनि अर्को वर्ष तिहार घरमा मनाउने आशा राख्छन् उनी।

विदेशिएका प्रमेश राजवंशीको अनुभव

परिवारको आर्थिक आवश्यकता पूरा गर्न बाध्यताले घर छोडेर विदेश जानुपर्दा प्रमेश राजवंशीका लागि चाडपर्वमा घरको सम्झना अझै पीडादायक हुन्छ। पाँच महिना अगाडि रोजगारका लागि पोर्चुगल पुगेका प्रमेशले तिहारको समयमा घरको हर्षोल्लास र साथीभाइसँगको रमाइलो पल सम्झिएर भावुक हुन्छन्। “काम गर्दा कति रमाइलो हुदै होला गाउँघरमा भनेर सोच्छु।” उनी भन्छन्, “घरमा हुँदा देउसी खेल्न, पटाका पड्काउन, र रातभरि रमाइलो गर्न पाउँथें। तर, अहिले १२ देखि १५ घण्टासम्म काम गर्दा त्यो अवसर कहाँ पाउँछु र?”

विद्यार्थी सन्ध्या राजवंशीको तिहार

विद्यार्थी सन्ध्या राजवंशीका लागि तिहार दशैंभन्दा रमाइलो चाड हो। सबैजना भेला भएर घर सजाउने, झिलिमिली बत्ती बालेर घर उज्यालो पार्ने र फुलझरी बाल्न पाउँदा उनलाई निकै खुशी लाग्छ। “तिहारमा तातो सेल रोटी र मटरको अचार खाँदा जिब्रो पड्किन्छ,” उनी भन्छिन्। लक्ष्मी पूजामा रंगोली बनाउने र भाइबहिनीहरूसँग भैलो खेल्न जाने कुरा उनको लागि तिहारको मुख्य आकर्षण हो।

 

वृद्ध सिता बस्नेतको सम्झना

सिता बस्नेतका लागि भने पुरानो तिहारको रमाइलो अझै पनि मनमा बसिरहेछ। उनी विगतका तिहारलाई सम्झिँदै भन्छिन्, “पहिले बिहानै उठेर घर-आँगन सफा गरेर, ढिकीमा पिठो कुट्ने काम गर्थें। फुलको तान लगाएर घर सजाउने चलन थियो, बत्तिहरू पाइँदैनथ्यो।” अहिलेको तिहारसँग तुलना गर्दै उनी भन्छिन्, “आजभोलि त सबै कुरा रेडिमेड पाइन्छ, पहिले जस्तो केही रमाइलो हुन्न। पहिला त मादल बजाएर देउसी-भैलो खेल्न जाने चलन थियो, अहिले डिजे बजाएर मनपरी नाचिन्छ। हाम्रो कला र संस्कृति हराउँदै गएको जस्तो लाग्छ।”

तिहारले फरक–फरक पृष्ठभूमिका व्यक्तिहरूमा विभिन्न प्रकारका भावनाहरू जन्माउँछ। काम, अध्ययन, या विदेशमा रहेकाहरूका लागि चाडपर्वमा घर जान नपाउनुको पीडा हुन्छ भने घरमै रहेका वृद्धहरूले पुराना दिनको सम्झना गरेर आजको आधुनिक तिहारमा केही कुरा छुटेको महसुस गर्छन्। तिहारको यो विविध अनुभवले चाडपर्वको महत्त्वलाई अझ गहिरो बनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]