

विराटनगर / झापाको गौरीगञ्ज गाउँपालिकाका विद्यालयहरूले अब नेपाल प्रहरीले तयार पारेको “स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक” पठनपाठन गराउने भएका छन्। यो पहल नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्सालद्वारा तयार पारिएको पाठ्यक्रममार्फत गरिने भएको हो। उक्त संझौतामा गौरीगञ्ज गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र अन्य सरोकारवालाहरूबीच त्रिपक्षीय सहकार्य भएको छ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. र सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राईको उपस्थिति थियो। यसका साथै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेल, स्थानीय जनप्रतिनिधिहरू र विद्यालयका प्रधानाध्यापकहरूको समेत सहभागीता रहेको थियो।
कार्यक्रमको क्रममा प्रहरी उपरीक्षक के.सी.ले गाउँपालिका अध्यक्ष राजवंशीलाई “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८०” को नमूना प्रति हस्तान्तरण गरेका थिए। यसअघि, हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले पनि यो पुस्तक पठनपाठनका लागि अपनाइसकेका छन्।
जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा रहेको विद्यालयमा यो पाठ्यक्रम पढाउने योजना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।