नेपाल महिला फुटबल टोलीले साफ च्याम्पियनसिप २०२४ को उपाधि भिडन्तमा बंगलादेशसँग हार बेहोर्यो

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक १४, २०८१

विराटनगर /त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालले बंगलादेशसँग २-१ गोलको हार बेहोरेको छ। यससँगै नेपाल छैटौं पटक साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ।

बंगलादेशले ५२औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। नेपाली डिफेन्डरको गल्तीले डिबक्स भित्र फसेको बलमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई १-० को अग्रता दिलाइन्।

५६औं मिनेटमा नेपालकी अमिषा कार्कीले प्रिति राईको पासलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याइन्। तर खेलको ८१औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले कर्नर क्षेत्रबाट उत्कृष्ट प्रहार गर्दै बंगलादेशको तर्फबाट दोस्रो गोल गरिन्, जसलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बा रोक्न असफल भइन्।

यस पराजयसँगै नेपालले बंगलादेशसँग फाइनलमा दोस्रो पटक हार व्यहोरेको छ। सन् २०२२ मा भएको साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो। नेपाली महिला टोलीको लागि यो अन्तर्राष्ट्रिय प्रतियोगितामा १२औं पटकको फाइनल हार हो, जसले गर्दा नेपाल पुनः उपविजेतामा सीमित बन्न पुगेको छ।

खेलका क्रममा दुवै टोलीले गोलका विभिन्न अवसरहरू सिर्जना गरे तापनि, अन्ततः बंगलादेशले २-१ गोलले जित निकाल्दै साफ च्याम्पियनसिप २०२४ को उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]