आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्ने परम्परा

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक १८, २०८१

विराटनगर/ तिहार पर्वको पाँचौं दिन, आज भाइटीका पर्व देशभर धूमधामका साथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै श्रद्धा र आस्थापूर्वक टीका लगाइदिने यो पर्व, नेपालीहरूको एक महत्वपूर्ण सांस्कृतिक परम्परा हो।

कार्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मखमली, सयपत्री, र गोदावरी फूलका माला अर्पण गर्छन्। यस दिनलाई यमद्वितीया पनि भनिन्छ, जसमा दिदीबहिनीले दाजुभाइको जीवनभर सुख, शान्ति र सौभाग्यको कामना गर्दै पूजा अर्चना गर्छन्।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा आफ्नो अखण्ड सौभाग्य र ऐश्वर्यको लाभ प्राप्त हुने विश्वास गरिन्छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले आज भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जानकारी दिएका छन्। यो वर्ष टीका लगाइदिँदा पूर्वतर्फ र टीका लगाउनेले पश्चिमतर्फ फर्कनुपर्ने बताइएको छ। यसरी गर्दा वृश्चिक राशिमा रहेको चन्द्रमा शुभ फलदायी हुने मान्यता छ।

टीकाका लागि विशेष तयारी स्वरूप लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदलमा चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, गणपत्यादि देवता र नवग्रहको पूजा गर्दै तेलको धाराले छेक्ने परम्परा रहेको छ।

भाइटीका पर्वले नेपाली समाजमा आपसी स्नेह र भाइचारा थप बलियो बनाउने विश्वास छ। दाजुभाइ र दिदीबहिनीबीचको यो पर्वले पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउँदै परम्परा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]