तराई क्षेत्रको प्रमुख छठ पर्व विधिवत् सुरु, पहिलो दिन ‘नहाय खाय’

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

विराटनगर/ नेपालको तराई क्षेत्र, विशेष गरी मिथिलाञ्चलमा मनाइने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ। पहिलो दिनको अवसरमा आज (मंगलबार) ब्रतालुले स्नान गरी अरबा-अरबाइन भोजन ग्रहण गर्दै ‘नहाय खाय’ विधि पूरा गरेका छन्। छठ पर्व पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणका लागि विशेष निष्ठा र भक्तिपूर्वक मनाइन्छ।

भोलि (बुधबार) पर्वको दोस्रो दिन ‘खरना’ परेको छ। यो दिन ब्रतालुले साँझ चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि सम्पन्न गर्नेछन्।

तेस्रो दिन बिहीबार छठको मुख्य दिन मानिन्छ। यस दिन साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई जलाशय किनारमा पूजा सामग्रीसहित अर्घ दिने परम्परा छ। अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको विधिवत् समापन हुनेछ। यो समापनलाई ‘पारण’ भनिन्छ।

पर्वका लागि यतिबेला नदी र जलाशय किनारमा पूजा स्थलहरू बनाइएका छन्। बाँसको ढाकी, माटोको कोसिया, कुरबार, हात्ती लगायतका विशेष सामग्रीसहित ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, विभिन्न मिठाई तथा फलफूल सूर्यदेवलाई अर्पण गरिन्छ।

छठ पर्वमा विशेष गरेर ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने चलन छ, जसलाई कठोर साधना मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएपछि चढाइएको प्रसाद ग्रहण र वितरण गर्ने परम्परा यस पर्वमा विशेष महत्त्वपूर्ण मानिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]