

विरमाटनगर / मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित सुनझोडा पुलमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार दुर्घटना दिउँसो करिब २ः३० बजेको हो। पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चिमबाट आएको तीव्रगतिमा रहेको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो ३ः२० बजे उनीहरूको निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा टिपरको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ।
सम्बन्धित टिपर एसियन हाइवे निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भइरहेको पाइएको छ। मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने थप अनुसन्धान भइरहेको डीएसपी दाहालले जानकारी दिए।