

सुनवर्षी / चाडपर्व सकिएसँगै मोरङको रंगेली, सुनवर्षि, रतुवामाई, धनपालथानलगायत पूर्वी भेगका किसान धान काट्न र भित्र्याउन व्यस्त भएका छन्। यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसानहरू उत्साहित छन्।
रंगेली-७ का किसान उगनलाल मण्डलका अनुसार मौसम अनुकूल भएकाले यसपालि धान बाली भित्र्याउन सहज भएको छ। उनले गहुँ र मकै लगाउन हतार भएकोले मजदुर लगाएर धान भित्र्याउन थालेको बताए। उनका अनुसार गाउँका अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले मजदुर अभाव देखिएको छ।
धान काट्न अत्याधुनिक मेसिनको प्रयोग पनि भइरहेको छ। मेसिनले १ घण्टामा १ विघासम्म धान काट्ने र ६ हजार रुपैयाँ शुल्क लिने किसानहरूले जनाएका छन्। तर, मण्डलजस्ता किसानहरूले मेसिनको सट्टा मजदुरबाटै धान काट्ने प्रचलनलाई प्राथमिकता दिने गरेका छन्। “मजदुरले काट्दा धान राम्रो सुक्छ र बिग्रिने समस्या हुँदैन,” उनले भने।
धान बाली भित्र्याएपछि किसानहरू तोरी, आलु, तरकारी, मकै, र गहुँ खेतीमा जुट्ने गर्छन्। किसानहरूले धानलाई वर्षभरिको खर्च जुटाउने मुख्य बालीका रूपमा लिने गरेका छन्।
धान भित्र्याउने क्रममा सरकारी निकायको प्राविधिक सहयोग र अनुदान आवश्यक रहेको किसानहरूले बताएका छन्। धान काट्न कतै मेसिनको प्रयोग भइरहेको छ भने कतै मजदुरहरूले परम्परागत तरिकाले धान काट्दै गरेको दृश्यले अहिले पूर्वी मोरङका गाउँहरू झिलिमिली भएका छन्।