डेङ्गु रोक थाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित बिहिबार, साउन ०३, २०८१

विराटनगर / मोरङको जहदा गाउँपालिकाले विश्वास परियोजनाको सहयोगमा हालै पालिका स्तरीय डेङ्गु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद शाह, उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारी लगायतका सुरक्षा निकाय, विद्यालयका शिक्षक, प्रहरी, सम्पूर्ण शाखाका प्रमुखहरु, स्वास्थ्य स्थानका प्रमुखहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो।

कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य कार्यालय मोरङ बाट अनिल कुमारदेवले डेङ्गु एक गम्भीर महामारी रहेको र यसको रोकथामका लागि सबैले सचेत रहन आवश्यक रहेको बताए। उहाँले थप गर्दै सर्वसाधारणलाई डेङ्गुबाट बच्न घर आँगन सफा राख्न र पानी जम्न नदिन आग्रह गरे।

स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले डेङ्गु रोक्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने र सर्वसाधारणलाई सचेत रहन आग्रह गरे।

सशस्त्र प्रहरी बलका नायब निरीक्षक भाइ काजी बस्नेतले सुरक्षा निकायबाट हरसम्भव सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारीले विशेष गरी बर्खायामको बेला सचेत रहन र आफ्नो वरपरको क्षेत्र सफा राख्न अनुरोध गरेका छन् । उहाँले भने, “डेङ्गु नियन्त्रणमा हामीले ध्यान दिनुपर्ने मुख्य पक्ष भनेको सफाइ हो। पानी जम्ने स्थानहरू, जस्तै फोहोर टायर, फूलदानी, वा खुला भाँडाहरूमा पानी नजम्ने गरी सफा राख्नुपर्छ। यसका लागि हाम्रो कार्यालयले नियमित रूपमा अनुगमन गर्नेछ र आवश्यक सहयोग प्रदान गर्नेछ।”

गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनले विद्यालयका विद्यार्थी र अभिभावकलाई डेङ्गु रोगको रोकथाम सम्बन्धी जानकारी आवश्यक रहेको औंल्याए। उहाँले भने , “विद्यार्थीहरू र अभिभावकहरू नै हाम्रो समाजका महत्त्वपूर्ण अंग हुन्। तिनीहरूले डेङ्गुको बारेमा पूर्ण जानकारी प्राप्त गर्नुपर्छ ताकि घरमा र समाजमा यसको बारेमा सचेतना फैलाउन सकून्। विद्यालयमा सचेतनामूलक कार्यक्रमहरू र स्वास्थ्य शिक्षा सञ्चालन गरिनुपर्छ। यसरी, हामी हाम्रो समाजलाई स्वस्थ राख्न सक्नेछौं।”

गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद शाहले आफ्नो सम्बोधनमा डेङ्गु रोगको रोकथामका लागि सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए। उहाँले भन्नुभयो, “डेङ्गु रोगको फैलावट रोक्नका लागि हामी सबैको प्रयास आवश्यक छ। गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दैछ, तर जनताको सहभागिता बिना यी प्रयासहरू सफल हुन सक्दैनन्। गाउँका प्रत्येक घरमा सचेतना पुर्याउनुपर्ने र यसको लागि सामूहिक प्रयास आवश्यक छ। सबैले आफ्नो घर आँगन सफा राख्नुपर्छ, पानी जम्ने स्थानहरूमा ध्यान दिनुपर्छ, र स्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्छ। यसका साथै, विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई डेङ्गुको बारेमा जानकारी दिनुपर्छ ताकि उनीहरूले पनि यसबारे सचेतना फैलाउन सकून्।”

कार्यक्रममा विश्वास परियोजनाले डेङ्गु रोगको रोकथाम सम्बन्धी विशेष जानकारी दिइएको थियो। परियोजनाका प्रतिनिधिहरूले डेङ्गुको संक्रमणबाट कसरी जोगिने, लामखुट्टेको प्रजनन स्थलहरू कसरी हटाउने, र समुदायमा कसरी सचेतना फैलाउने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]