बल्लभ दाहालसहित एक सयभन्दा बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १२, २०८१

विराटनगर/  एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभ दाहाल बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) मा प्रवेश गरेका छन्। नेपाल विद्त परिषदका केन्द्रिय उपाध्यक्ष एवं पूर्वाञ्चल संयोजक दाहाल एक सयभन्दा बढी कार्यकर्तासहित पार्टीमा प्रवेश गरेका हुन्।

राप्रपा नेपाल मोरङले विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममार्फत बल्लभ दाहालसँगै नेपाल विद्त परिषद मोरङका अध्यक्ष पुष्पराज दाहाल पनि राप्रपा नेपालमा सामेल भएका छन्।

पूर्वराजा र राजसंस्था पुनःस्थापनाको अभियान सञ्चालन गर्दै आएका बल्लभ दाहालले यसअघि एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङ गठन गरी सक्रियता देखाएका थिए। उक्त समितिका सल्लाहकार जितबहादुर अर्जेल र पूर्वमन्त्री बद्रिप्रसाद मण्डलको साक्षीमा दाहालले राप्रपा नेपालमा प्रवेश गरेका हुन्।

कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले बल्लभ दाहाललाई स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए। साथै, कोशी प्रदेश संयोजक माधव आचार्य र मोरङ जिल्ला अध्यक्ष कुमार ढकालले पनि दाहाललाई बधाई दिए।

बल्लभ दाहालको प्रवेशले राप्रपा नेपालको मोरङ जिल्ला संगठन थप सुदृढ हुने विश्वास गरिएको छ। जनाधार भएका नेता मानिने दाहालको प्रवेशपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा मोरङमा कमजोर हुने अनुमान गरिएको छ।

यो प्रवेशसँगै राप्रपा नेपाल मोरङमा थप सक्रियता देखाउने तयारीमा छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]