

विराटनगर/ विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु भएको छ। निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको जनाएको छ र मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। मतदान सम्पन्न भएको स्थानमा आजै साँझदेखि मतगणना सुरु गरिनेछ र सोमबारसम्म सबै परिणाम सार्वजनिक गरिने आयोगले जानकारी दिएको छ।
उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १, र ३३ वडाअध्यक्षका लागि मतदान भइरहेको छ। यसअघि एक जना वडाअध्यक्ष र दुई जिल्ला समन्वय समिति प्रमुख निर्विरोध निर्वाचित भइसकेका कारण ४४ पदका लागि घोषित निर्वाचनबाट ४१ पदमा मात्र मतदान भइरहेको हो।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन आयोगले सुरक्षा व्यवस्था कडा बनाएको छ। हरेक मतदान केन्द्रमा कम्तीमा १३ जना सुरक्षाकर्मी खटाइएको छ। बाजुरालगायतका संवेदनशील क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
मतदान सामग्री समयमै गन्तव्यमा पुर्याइएको र मतदान स्थलहरूमा आवश्यक सबै सुविधा उपलब्ध गराइएको आयोगले जनाएको छ।
आयोगले मतदाताको सहजताका लागि नागरिकता, मतदाता परिचयपत्र, राहदानी, सवारी लाइसेन्स वा नेपाल सरकारले जारी गरेका अन्य कुनै पनि परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने व्यवस्था गरेको छ।
शारीरिक अशक्तता भएका र ज्येष्ठ नागरिकलाई मतदानस्थलसम्म पुर्याउन यातायातको विशेष व्यवस्था गरिएको छ। साथै, निर्वाचनका बेला सार्वजनिक यातायात खुला राखिने व्यवस्था गरिएको छ।
यसपटक आयोगले मतदान सम्पन्न भएको स्थानमै मतगणना गर्ने व्यवस्था मिलाएको छ। यसले नतिजा छिटो सार्वजनिक गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि सबैलाई मतदानको अधिकार प्रयोग गर्न अपिल गरेको छ।