एनपीएल: कर्णाली याक्स पराजित भए पनि प्लेअफमा प्रवेश, काठमाडौं बाहिरियो

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससँग पराजय व्यहोरे पनि प्लेअफमा स्थान बनाएको छ। काठमाडौं गुर्खाजलाई नेट रन रेटमा पछि पार्दै कर्णाली चौथो स्थानमा उक्लिएको हो।

आजको खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा १०१ रन बनाएको थियो। कर्णालीका जीशान मक्सूदले सर्वाधिक ३० रन बनाउँदा, सुदूरपश्चिमका बलर हरमीत सिंहले तीन विकेट लिए।

१०२ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमै चार विकेट गुमाएर भेटायो। कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान ३८–३८ रन बनाए। कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले एक/एक विकेट लिए।

कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेटाएको भए काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउने थियो। तर, सुदूरपश्चिमको मध्यम गति खेलले काठमाडौंलाई बाहिर गरायो।

यससँगै एनपीएलका चार प्लेअफ टिम तय भएका छन् – जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, र कर्णाली याक्स।

आगामी खेलको तालिका

1. बुधवार बिहान ९ बजे: इलिमिनेटरमा तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली भिड्नेछन्। यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

2. बुधवार दिउँसो १ बजे: शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच पहिलो क्वालिफायर हुनेछ। यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित टोली दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्नेछ।

3. दोस्रो क्वालिफायर: बिहीवार दिउँसो १२ बजे।

4. फाइनल खेल: आउँदो शनिवार।

एनपीएलको यो रोमाञ्चक चरणले नेपालका क्रिकेटप्रेमीहरूलाई थप उत्साहित बनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]