

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश गरिने जानकारी दिनुभएको छ। उहाँका अनुसार विधेयकको सबै तयारी पूरा भइसकेको छ र अब अधिवेशनमा विधिवत रूपमा पेश गरिनेछ।
मुख्यमन्त्री कार्कीले आज कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै पत्रकारका हक, हितको संरक्षण र पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले कोशी प्रदेशको समृद्धि र विकासका लागि कृषि आधारित उद्योग र पर्यटनलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै यसको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो। साथै, चिया सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ मनाउने तयारी भइरहेको बताउँदै यसका लागि सबै क्षेत्रबाट सहयोगको अपील गर्नुभयो।
विरोधका लागि मात्र विरोध नगरी पर्यटक मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले बन्द हड्तालजस्ता गतिविधिहरूले विकासमा अवरोध पुर्याउने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, झापा, मोरङ, सुनसरी, धनकुटा र सोलुखुम्बु जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष लिलाबल्लभ घिमिरे, वर्तमान अध्यक्ष भरत खड्का, सुशीला पाठकलगायतले पनि कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो।