राप्रपाले इटहरीमा बृहत् विरोध सभा सम्पन्न, सम्पत्ति शुद्धीकरणको हतियारले ठूला दललाई घेरिने चेतावनी

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको अभियानले अब ठूला दलका कोही पनि नेता नजोगिने चेतावनी दिएका छन्।

अध्यक्ष लिङ्देनले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको प्रसंग उठाउँदै यो अभियानले देशभरका ठूला दलका भ्रष्ट नेताहरुलाई छानबिनको घेरामा ल्याउने विश्वास व्यक्त गरे। उनले नेपालका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताउँदै राप्रपाका नेताहरूबाटै छानबिन सुरु गर्न तयार रहेको धारणा राखे।

अहिलेको राजनीतिक व्यवस्थाले भ्रष्टाचारलाई झन् संरक्षण दिएको आरोप लगाउँदै उनले देशको हितका लागि राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आवश्यक रहेकोमा जोड दिए।

विरोध सभामा राप्रपाका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई प्रजातन्त्रका लागि खतरनाक भन्दै प्रजातन्त्रको नाममा प्रजातान्त्रिक मान्यतालाई कमजोर बनाउने कार्य भइरहेको बताए। उनले ओली, देउवा र प्रचण्डले संसदमा उभिएर आफूहरूले कुनै भ्रष्टाचार नगरेको र विदेशमा पैसा नराखेको भन्ने हिम्मत गर्न नसक्ने आरोप लगाए।

विरोध सभामा महामन्त्रीद्वय राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद शाहले प्रदेश संरचना खारेजी, अधिकारसम्पन्न स्थानीय शासन, राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्र, सहकारी पीडितको रकम फिर्ता, शिक्षा–स्वास्थ्यमा समान पहुँच, भूमिहीन समस्या समाधानलगायत मुद्दामा राप्रपाले निरन्तर आवाज उठाउने बताए।

प्रवक्ता ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीहरूको दिनगन्ती सुरु भएको दाबी गर्दै राप्रपा जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताए। उनले सहकारी पीडितहरूको रकम फिर्ता गराउन र भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन दबाब दिने बताएका छन्।

विरोध सभामा निर्देशन समितिका सदस्य रामकुमार सुब्बा, कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, केन्द्रीय सदस्य इनु अधिकारी, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर सुवेदीलगायतका नेताहरूले सम्बोधन गरेका थिए।

पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट सहभागी कार्यकर्ताहरूको उपस्थिति रहेको कार्यक्रममा भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गरिएको राप्रपाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]