२०८१ सालको SEE परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कोशी प्रदेश सरकारको प्रतिबद्धता

Logo
भाेजराज घिमिरे / माेरङ्ग प्रकाशित बिहिबार, फाल्गुण २९, २०८१

विराटनगर / कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) निष्पक्ष, मर्यादित र पारदर्शी रूपमा सञ्चालन गर्नका लागि आवश्यक नीति, विधि तथा प्रविधिहरूलाई प्राथमिकता दिने जनाएको छ।

प्रदेश राजधानी विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका अधिकारीहरूले परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका निकायहरू आ-आफ्नो दायित्व अनुसार क्रियाशील रहेको जानकारी गराए।

२०८१ सालको SEE परीक्षा चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा अवधिभर अनियमितता, जालसाजी तथा अव्यवस्था न्यूनीकरण गर्दै परीक्षार्थीलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ताका अनुसार, “यस पटकको परीक्षालाई पूर्ण रूपमा व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन नविनतम व्यवस्थाहरू लागू गरिनेछ। परीक्षा प्रणालीप्रति समाजको विश्वास बढाउन सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहनेछ।”

नयाँ व्यवस्थाहरू लागू गरिँदै

कार्यक्रममा परीक्षा सञ्चालन समितिबाट अपनाइने केही मुख्य उपायहरूबारे जानकारी गराइयो, जसमा निम्न बुँदाहरू समावेश छन्:

कडाइ गरिएको सुरक्षा प्रबन्ध – परीक्षा केन्द्रहरूमा निगरानी बढाइनेछ।

प्रविधिको प्रयोग – अनलाइन प्रणालीबाट अनुगमन तथा सूचना आदान-प्रदान गरिनेछ।

पारदर्शी मूल्यांकन प्रक्रिया – उत्तरपुस्तिका मूल्यांकनलाई थप व्यवस्थित र निष्पक्ष बनाउन विशेष उपाय अपनाइनेछ।

पत्रकार तथा सञ्चारमाध्यमको सहयोग आवश्यक

यस अवसरमा पत्रकारहरूलाई परीक्षासम्बन्धी सही सूचना प्रवाहमा सहयोग गर्न आग्रह गरिएको छ। परीक्षा प्रणालीलाई विश्वसनीय बनाउन सञ्चारमाध्यमको सकारात्मक भूमिका महत्त्वपूर्ण हुने भन्दै, परीक्षासँग सम्बन्धित कुनै पनि समस्या वा जानकारीलाई सत्यतथ्यका आधारमा प्रस्तुत गर्न अनुरोध गरियो।

सञ्चारकर्मीहरूसँग परीक्षा व्यवस्थापनको वर्तमान स्थिति, सुधारका उपाय तथा आगामी योजनाहरूमा विस्तृत छलफल गरिएको थियो।

SEE परीक्षाको सफल तथा मर्यादित सञ्चालनका लागि कोशी प्रदेश सरकार, शिक्षासम्बन्धी निकायहरू, विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक तथा सञ्चारमाध्यम सबै पक्षको सहकार्य आवश्यक हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]