

विराटनगर, — कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा तालिमरत प्रहरी जवान प्रशिक्षार्थीहरूको एक टोलीले सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनी, विराटनगरमा अध्ययन तथा अवलोकन भ्रमण गरेका छन्।
प्रहरी तालिम केन्द्रका अनुसार, २०८२ सालको वैशाख २७ गतेदेखि सुरु भएको तालिम कार्यक्रमअन्तर्गत प्रशिक्षार्थीहरूलाई दुई समूहमा विभाजन गरी अध्ययन भ्रमण गराइएको हो। पहिलो समूहमा १०१ जना र दोस्रो समूहमा १०० जना प्रशिक्षार्थी रहेका छन्। भ्रमणको उद्देश्य सामुदायिक प्रहरी सेवा केन्द्रको गतिविधि, कार्यशैली तथा प्रहरी र नागरिकबीचको सहकार्यको अभ्यासबारे व्यवहारिक जानकारी प्रदान गर्नु रहेको छ।
जेठ २८ गते पहिलो समूहका १०१ जना प्रशिक्षार्थीहरूले तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको भ्रमण गरेका थिए। उक्त कार्यक्रममा केन्द्रकी अध्यक्ष मिना जोशीले अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक प्रभात लिम्बूले यस्ता अध्ययन भ्रमण कार्यक्रमहरूले प्रशिक्षार्थीहरूलाई व्यवहारिक ज्ञान दिन मद्दत गर्ने उल्लेख गर्दै सफल व्यवस्थापनका लागि अध्यक्ष मिना जोशी, सचिव भोजराज घिमिरे तथा कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिनुभयो।
अध्यक्ष जोशीले सामुदायिक प्रहरी साझेदारी प्रणालीको महत्त्व र यसको प्रभावकारी कार्यान्वयनबारे जानकारी दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य स-सचिव किरण कुमार श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव भोजराज घिमिरेले गर्नुभएको थियो।
केन्द्रका पदेन सदस्य प्रहरी हल्दार तुलसा खड्का र सहायक हल्दार कल्पना कटेलले कार्यालयका अभिलेख तथा खातासम्बन्धी विवरणबारे प्रशिक्षार्थीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रम व्यवस्थापनमा कार्यसमिति सदस्य पद्मा पौडेल, सेरसिंह दुगड, विजय शर्मा र कोषाध्यक्ष सन्तोष बाहेतीको सक्रिय भूमिका रहेको थियो। साथै, सहयोगी दाताका रूपमा मनोज विक्रम शाहा, प्रबिन अग्रवाल, ज्ञानु खड्का र पबन पुरेतले कार्यक्रम सफल बनाउन सहयोग पुर्याएका थिए।
तालिम केन्द्रले प्रहरी नायब उपरीक्षक गुरु प्रसाद तिम्सिनालाई समन्वयका लागि सम्पर्क अधिकारी तोकेको जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनीले प्रशिक्षार्थीहरूलाई आवश्यक सहयोग सदैव तत्पर रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।