प्रेस जनमत संघको केन्द्रीय बैठक तथा प्रशिक्षण सम्पन्न, ९ बुँदे जनकपुरधाम घोषणापत्र जारी

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शनिबार, साउन १०, २०८२

सुनसरी/ प्रेस जनमत संघको केन्द्रीय कार्यसमितिको बैठक तथा प्रशिक्षण कार्यक्रम साउन ८ र ९ गते जनकपुरधाममा सम्पन्न भएको छ। संघका अध्यक्ष अवधेशकुमार झाको अध्यक्षतामा सम्पन्न बैठकले संचार क्षेत्रसँग सम्बन्धित विविध विषयमा ९ बुँदे जनकपुरधाम घोषणा पत्र–२०८२ जारी गरेको छ।

घोषणापत्रमा संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणदेखि लिएर पत्रकारको अधिकार, प्रेस स्वतन्त्रता, संचारकर्मीको सुरक्षालगायत विषयमा स्पष्ट अडान सार्वजनिक गरिएको छ। बैठकले प्रेस स्वतन्त्रता केवल लोकतान्त्रिक प्रणालीमै सम्भव हुने भन्दै संघीयता र गणतन्त्रको संरक्षण र प्रवद्र्धनमा संघ प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।

संघले ‘नौलो गणतन्त्र’ को अवधारणालाई अघि बढाउन आवश्यक रहेको भन्दै वर्तमान व्यवस्थामा देखिएका कमजोरी र चुनौती समाधानतर्फ गम्भीर छलफल गरिनु पर्ने निष्कर्ष निकालेको छ।

पत्रकारहरूको अधिकार र सुरक्षालाई प्राथमिकतामा राख्दै बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिकको सुनिश्चितता तथा अवैधानिकरूपमा पत्रकारहरूलाई रोजगारीबाट हटाउने कार्यको निन्दा गर्दै यस्ता क्रियाकलाप रोक्न कानुनी तथा संस्थागत संरचना निर्माणको माग गरेको छ।

त्यसैगरी, प्रेस काउन्सिल नेपाल अझै केन्द्रमुखी रहेको र संघीय संरचनाअनुसार नचलेको भन्दै मधेश प्रदेशका सञ्चारमाध्यममाथि हुने विभेद तत्काल अन्त्य गर्न र वर्गीकरणको अधिकार प्रदेश तहमै हस्तान्तरण गर्न माग गरिएको छ। लोककल्याणकारी विज्ञापनको वितरण पनि प्रदेश आमसञ्चार प्राधिकरणमार्फत गर्नुपर्ने उल्लेख गरिएको छ।
नेपाल पत्रकार महासंघमा निष्पक्ष सदस्यता वितरण सुनिश्चित गर्नुपर्ने, योग्य पत्रकारहरूलाई राजनीतिक आस्थाका आधारमा विभेद नगरिकन सदस्यता दिनुपर्ने भन्दै महासंघका सबै तहलाई सचेत गराइएको छ। यस्तो विभेद कायमै रहेमा प्रेस जनमत संघले प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ।

संघीय सरकार अन्तर्गत सञ्चालित सञ्चारमाध्यममा मधेशका विषयलाई प्राथमिकता नदिइएकोप्रति पनि बैठकले गम्भीर चिन्ता व्यक्त गर्दै संचारकर्मीको नियुक्ति, सामग्री सम्प्रेषण लगायतमा समावेशिता सुनिश्चित गर्न आग्रह गरेको छ।
काठमाडौं केन्द्रित सञ्चारमाध्यमहरूले मधेश र संघीयताको मर्मलाई ओझेलमा पारिरहेको भन्दै संघले मधेश प्रदेश सरकारलाई आफ्नै मिडिया हाउस स्थापना गर्न सुझाव दिएको छ। संघले आमसञ्चार प्राधिकरणमार्फत सञ्चालित विज्ञापन तथा संचारकर्मी लक्षित बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समेत आग्रह गरेको छ।

संघले संगठन विस्तार अभियान भदौ १ गतेदेखि मधेश प्रदेशका जिल्लाबाट सुरु गर्ने निर्णयसमेत बैठकमा गरेको छ। साथै, संघका केन्द्रीय सम्पर्क कार्यालय जनकपुरधाममा स्थापना गरी संचालनमा ल्याउनको लागि सचिव ललन मण्डलको संयोजकत्वमा सदस्य मनोज कुमार मोरबैता र चन्दन रजक रहेको तीन सदस्यीय सचिवालय गठन गर्ने निर्णय समेत बैठकले गरेको छ।

संघका सचिव ललन मण्डलले जारी गर्नुभएको घोषणापत्रमा लोकतन्त्र, सामाजिक न्याय, पत्रकार हित र मधेशका आवाजहरूलाई सशक्त रूपमा उठाउन संघ प्रतिबद्ध रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]