कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, फ्याक्ट्री र कवाडीमा बिक्री हुने गरेको खुलासा

Logo
भोजराज घिमिरे प्रकाशित मंगलबार, साउन २०, २०८२

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, फ्याक्ट्री र कवाडीमा बिक्री हुने गरेको खुलासा
भोजराज घिमिरे, विराटनगर, साउन २०

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा श्रृंखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्दै आएका गिरोहका १२ जना प्रहरीको फन्दामा परेका छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीका अनुसार चोरीमा संलग्न ७ जना र चोरी भएको ट्रान्सफर्मर खरिद गर्ने ५ जना गरी १२ जनालाई पक्राउ गरिएको हो।

गत माघ १० गतेदेखि हालसम्म तीन जिल्लामा २२ वटा ट्रान्सफर्मर चोरी भएका थिए। मोरङमा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा चोरीका घटनाहरू घटेका हुन्।

डिआइजी कार्कीका अनुसार, “झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने एउटै गिरोह रहेको खुलेको छ। उनीहरू अनुभवी र प्राविधिक सीपयुक्त छन्, जसले चोरीका क्रममा भैरभ्याङको प्रयोग गरेका छन्।”

पक्राउ परेकाहरूमा मोरङ ग्रामथान–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), मोरङ बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, भारत घर भई दुहबी–४ मलाटीमा ससुराली बसोबास गर्दै आएका ३४ वर्षीय आलम मियाँ, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी रहेका छन्।

चोरी गरिएका ट्रान्सफर्मरहरू मोरङ र सुनसरीका विभिन्न फ्याक्ट्री तथा कवाडी पसलहरूमा विक्री गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। तीमध्ये लक्ष्य प्रधानको कवाडी पसल, इटहरी–४ का सीताराम राईको भाडा पसल, मोरङ बुढीगंगा–३ स्थित विनय साहको एसएस मेटल फ्याक्ट्री, विराटनगर–६ का अजयकुमार साहको दुर्गा भाडा पसल, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्स र इटहरीका दिलिप चौधरीले सञ्चालन गरेको दिलिप कवाडी पसल रहेका छन्।

यस गिरोहको खोजी र नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वयमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै सादा पोशाकमा ३५ जना बढी प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाइएको डिआइजी कार्कीले जानकारी दिए।

उनका अनुसार, पक्राउ परेकाहरू उपर विद्युत चोरीसम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]