

सुनसरी/प्याब्सन इनरुवाको आयोजनामा मावितह नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिबार इनरुवाको ॐ साइराम पार्टी प्यालेसमा प्याब्सन इनरुवाको आयोजनामा मावितह इनरुवा नगरस्तरीय अन्तरविद्यालय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रतियोगी १३ वटा विद्यालयलाई पछि पार्दै इनरुवाको ३ नम्बर वडामा रहेको निर्मला मेमोरियल बाल उद्यान सेकेण्डरी इङ्लिस स्कुल प्रथम हुन सफल भयो भने वडा नम्बर १ मा रहेको इनरुवा इङ्लिस स्कुल दोस्रो भएको छ । त्यसैगरी वडा नम्बर ५ मा रहेको सूर्य किरण एकेडेमी तृतीय हुँदा वडा नम्बर ३ मै रहेको स्मल ह्याभेन एकेडेमी सान्त्वना भएको छ ।
प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईको अध्यक्षतामा तथा ९ नम्बर वडाका वडा अध्यक्ष बसिरमुद्दिन मन्सुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मनतव्य आशिष थापाले राखेका थिए भने प्याब्सन सुनसरीका सहसचिव मनोज कुमार यादवले शुभकामना मनतव्य राखेका थिए ।
इनरुवा क्षेत्रमा रहेका नीजि विद्यालयहरु मध्ये १३ वटा माध्यमिक तहका विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएको प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले जानकारी दिए । उनले प्याब्सनले विद्यार्थीहरुको चौतर्फी वृत्ति विकासका लागि सकृय रहेको दाबी गरे ।
प्रतियोगिताको क्विज मास्टरको रुपमा प्याब्सन इनरुवाका सदस्य हरिशरण साहले भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको संचालन प्याब्सन इनरुवाका सचिव गंगाराम मण्डलले गरेका थिए ।