कोशी प्रदेशको आमसञ्चार विधेयकमा थप छलफल आवश्यक : मुख्यमन्त्री कार्की

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, भाद्र ११, २०८२

कोशी प्रदेशको आमसञ्चार विधेयकमा थप छलफल आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर – नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले सरकार पत्रकारहरूको माग र सरोकारलाई गम्भीरतापूर्वक लिएको बताएका छन्।

मुख्यमन्त्री कार्कीले प्रस्तुत आमसञ्चार विधेयकमा अझै छलफल आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सभामा तत्काल पारित हुने सम्भावना कम भएको प्रष्ट पारे। उनले भने, “अहिले बनेको विधेयकमा थप छलफल गर्नुपर्ने अवस्था देखियो। प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारप्रति म प्रतिबद्ध छु। पत्रकारहरूको मागलाई सरकारले सकारात्मक रूपमा लिएको छ।”

महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्काले विधेयकका केही दफाले प्रेस स्वतन्त्रता खुम्च्याउने आशंका रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएका दिनदेखि नै पत्रकारिताका लागि बलियो संस्था बनाउने सोच रहेको स्मरण गर्दै पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा आमसञ्चार प्रतिष्ठान गठन गरेर पत्रकार हितका काम सुरु गरिएको तर त्यसलाई तत्कालीन सरकारले खारेज गरेको उल्लेख गरे। अहिले भने कानुनमार्फत पत्रकारिता क्षेत्रमा संस्थागत आधार तयार गर्न खोजिएको भए पनि सरोकारवाला पक्षहरूको चासोका कारण थप छलफल गरेर मात्र अघि बढ्ने बताए।

सो अवसरमा महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमा चेम्जोङले पत्रकारहरूको माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]