दुहबी / विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को आह्वानमा निजी विद्यालयहरूले सडकमा स्कुल बस एकसाथ उतारेर प्रदर्शन गरेका छन् । देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने कार्यक्रम तय भए अनुसार सुनसरीको इनरुवामा पनि स्कुल बस सडकमा उतारेर विरोध जनाइएको हो ।
निजी विद्यालय सञ्चालकहरूले इनरुवामा स्कुल बसको र्याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालयले बससहित प्रदर्शन गरेका हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । यसैक्रममा प्याब्सन, नेशनल प्याब्सनले संयुक्त रूपमा इनरुवामा र्याली निकालेका हुन् ।
इनरुवा नगरपालिकाबाट सुरुभएकाे र्याली महेन्द्र चौक ,सखुवागाछि ,मधेसा ,बलाहा ,हस्पिटल रोड लगायतका ठाउँ परिक्रमा पुनःइनरुवा नगरपालिका आएर समापन गरिएको इनरुवा प्याव्सन अध्यक्ष रमेश गुरागाईले बताए र्यालीमा इनरुवाका निजी विद्यालयका सयौं बसहरु प्रयोग गरिएको थियोे ।
