

पथरी शनिश्चरेमा जितिया विशेष सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न
पथरी शनिश्चरे, भदौ २२ गते
मोरङको पथरी शनिश्चरे वडा नं. ४ स्थित सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा थारु समुदायले आफ्नो मौलिक पर्व जितिया विशेष सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक मनाएका छन्।
“भाषा, संस्कृति, भेषभुषा र जातीय पहिचानको संरक्षण” भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले नगरभित्र विविधतामा एकता रहेको उल्लेख गर्दै सबै समुदायको संस्कृति र परम्पराको विकास तथा संरक्षणमा नगरपालिकाले निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो।
सो अवसरमा थारु कल्याणकारिणी समितिका मोरङ अध्यक्ष प्रदीप विश्वासले जल, जमिन र जंगल मासिँदै गएको उल्लेख गर्दै भाषा, पोशाक, साहित्य, संस्कृति र परम्परागत पहिचान जोगाउन सबैले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
वक्ताहरूले जितिया पर्व थारु महिलाले सन्तानको सुख, शान्ति र समृद्धिको लागि तीन दिनसम्म निराहार बसेर मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै यसले थारु समुदायको आस्था र परम्परागत मूल्यलाई प्रतिविम्बित गर्ने धारणा राखे।
त्यसैगरी आदिवासी जनजाति महासंघ पथरी शनिश्चरेका अध्यक्ष देवेन्द्र वनेम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राईले नेपालले अनुमोदन गरेको आईएलओ–१६९ र आदिवासी जनजातिसम्बन्धी अन्तर्राष्ट्रिय कानुन तथा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार संघ, प्रदेश र स्थानीय तहमा आवश्यक कानुन तथा नीतिहरू निर्माण गरी लागु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
थारु कल्याणकारिणी सभा पथरी शनिश्चरे नगर अध्यक्ष रामनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानेपोखरीका अध्यक्ष विद्यानन्द चौधरी, वडा नं. ८ का अध्यक्ष नवीनजंग कार्की, वडा नं. ४ का अध्यक्ष लोक किरण न्यौपाने र बावुराम चौधरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा थारु गायिका अन्जना चौधरीले जितिया पर्वको सुमधुर गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो भने मोरङका विभिन्न १० सांस्कृतिक टोलीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।