

जिल्ला प्रहरी उपरीक्षक कटुवाललाई स्वागत, सामुदायिक क्षतिको निरीक्षण तथा भवन निर्माणबारे छलफल
विराटनगर । सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीले जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरेको छ। भदौ २४ गतेको जेन-जि आन्दोलनका क्रममा सामुदायिक भवनमा पुगेको क्षतिको निरीक्षण गराई आवश्यक विवरण प्रस्तुत गर्ने अवसरमा स्वागत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा एसपी कटुवाललाई खादा लगाएर स्वागत गरिएको थियो। सो अवसरमा उनले सामुदायिक प्रहरी सेवा केन्द्रले विगतदेखि नै प्रहरी–जनता सहकार्यलाई सबल बनाउँदै आएको उल्लेख गर्दै, आगामी दिनमा अझ प्रभावकारी ढंगले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वागत कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार उद्योगी तथा समाजसेवी चम्पालाल राठी, सल्लाहकार यादव पोखरेल, उपाध्यक्ष विद्यानन्द माझी, सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, सदस्यहरू सेरसिंह दुगड, सुशील मुद्रा, विजय शर्मा तथा कार्यसमिति अध्यक्ष मिना जोशीसहित अन्य पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो।
सो अवसरमा आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण प्रस्तुत गर्दै भवन पुनर्निर्माण तथा विस्तारबारे भइरहेको तयारीबारे छलफल गरिएको थियो। साथै, विराटनगर महानगरपालिका भित्रका कञ्चनबारी, मिल्स एरिया र रानी क्षेत्रका सामुदायिक प्रतिनिधिहरूले पनि आफ्ना विचार राख्दै सेवा केन्द्रलाई अझ सशक्त बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।