विराटनगर,
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले पछिल्ला हप्ता सञ्चालन गर्दै आएको कडाइपूर्ण निगरानीपछि भन्सार छलीमा संलग्न समूहदेखि केही स्थानीय व्यापारीसम्म त्रसित बनेको स्रोतले जनाएको छ। लगातारको अनुगमनका कारण अवैध कारोबार गर्ने शैली नै परिवर्तन गर्न व्यापारीहरू बाध्य भएको बताइएको छ।
गुल्मबाट खटिएको टोलीले असार १६ गतेसम्म विराटनगर भन्सार कार्यालय रानी–आइसिपी आसपासका क्षेत्रहरूमा चोरी–पैठारीसम्बन्धी १७ वटा मुद्दा दर्ता गराएको छ। पक्राउ तथा नियन्त्रणमा परेका सबै सामग्री तथा सवारीसाधन भन्सारमा बुझाइएको छ। भन्सार निकट स्रोतका अनुसार दर्ता भएका मुद्दामा समावेश सामानहरूको कुल मूल्य करिब १९ लाख ८२ हजार ४९१ रुपैयाँ बराबर पुगेको छ।
यसैबीच, दोस्रो साताको अन्त्यतिर मात्रै गुल्मले एकैदिन ६ लाखभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरी भन्सारमा बुझाएको थियो। बरामद वस्तुमध्ये
३ लाख ४० हजारका चस्मा,
१ लाख ४ हजारका कपडा,
४६ हजारका किराना सामग्री,
४२ हजारका मोटर पार्ट्स,
४० हजारका रजनीगन्धा,र करिब १ लाख मूल्यको मोटरसाइकल
समेत रहेका छन्। यी सबै वस्तुहरू मोटेर्वाचोक, विराटनगर–१७, हनुमान मन्दिर क्षेत्र र रानी बसपार्क वरपरबाट नियन्त्रणमा लिइएका हुन्।
सशस्त्र प्रहरीको निरन्तर कारबाहीपछि बजारमा “गुल्मपति खतिवडाको कडाइ कहिलेसम्म कायम रहन्छ” भन्ने चर्चा चर्किँदै गएको छ। केही व्यापारीले ‘सरुवा’का गफहरू समेत चलाउन थालेको बताइन्छ। यस्तै, खतिवडाले जस्तै कडाइ नयाँ स.प्र.ना.उ. ले पनि जारी राख्ने हो कि भन्ने विषयमा बजारमा चासो बढ्दो छ।
