१८ औं राष्ट्रिय निर्माण दिवस देशभर विभिन्न कार्यक्रमसँगै मनाइएको छ। नेपाल निर्माण व्यवसायी महासंघले सोमबार राजधानी काठमाडौंमा आयोजना गरेको प्रभातफेरी तथा रक्तदान कार्यक्रमसँगै मोरङमा समेत सामाजिक गतिविधिहरू सम्पन्न भएका छन्।
काठमाडौंमा प्रभातफेरी र रक्तदान
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको प्रभातफेरी थापाथली, माइतीघर मण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा पुगेर समापन भयो। कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले निर्माण उद्योगका चुनौती र ऐन–कानूनका त्रुटिपूर्ण प्रावधानले समस्यालाई झनै जटिल बनाएको उल्लेख गर्दै सुधारका आवश्यकतामा जोड दिए।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगले विगतका वर्षहरूमा नदेखिएको कठिनाइ भोगिरहेको बताउँदै सार्वजनिक खरिद ऐनका अव्यवहारिक प्रावधानले उद्योगलाई संकटमा पुर्याएको आरोप लगाए। महासंघका महासचिव रोशन दाहालका अनुसार निर्माण क्षेत्र गम्भीर समस्यामा परेको कारण देशको समग्र अर्थतन्त्रमा असर परेको छ।
दिवसकै अवसरमा महासंघ सचिवालयमा एभरेष्ट अस्पतालको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरे। साथै महासंघको प्रायोजनमा तिनकुनेस्थित निःसहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण गरिएको थियो। केही दिनअगाडि महासंघले ‘एफक्यान रोड रेस’ समेत आयोजना गरेको थियो।
विराटनगरमा ६० जनाको रक्तदान
१८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा निर्माण व्यवसायी संघ मोरङले विराटनगरमा रक्तदान तथा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। संघको मोरङ जिल्ला कार्यालयमा आयोजित खुला रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेका छन्।
निर्माण व्यवसायीसँगै विभिन्न क्षेत्र, तह र समुदायका व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रमबारे संघका अध्यक्ष महेशकुमार मिश्राले रगत अभावका कारण कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कोशी प्रदेश समिति तथा मोरङ शाखाका पदाधिकारीहरूले रक्तदातालाई कदर–पत्र प्रदान गरे।
दिवसकै अवसरमा साँझ विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन गराएर सामाजिक उत्तरदायित्वप्रति संघको प्रतिबद्धता प्रदर्शन गरिएको संघले जनाएको छ।
