विराटनगर — देश संवेदनशील अवस्थामा रहेको र निर्वाचन नजिकिँदै जाँदा शान्ति–सुरक्षाको चुनौती थप बढेको सरोकारवालाहरूले बताएका छन्।
फ्रि मिडिया नेटवर्कको आयोजनामा बुधबार नेपाल पत्रकार महासंघ मोरङमा आयोजित अन्तरक्रियामा सुरक्षा निकाय, अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले जिम्मेवार पत्रकारिता, सहकार्य र एकताको आवश्यकता औंल्याएका छन्।
कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले वर्तमान अवस्थामा सहकार्य, अपनत्व र एकता अत्यावश्यक रहेको बताए। देश तरल अवस्थामा रहेको उल्लेख गर्दै उनले करिब ९ हजार कैदी फरार हुनु, प्रहरीका हतियार तथा बर्दी लुटिनुजस्ता घटनाले सुरक्षा चुनौती बढाएको धारणा राखे। शान्ति–सुरक्षाको सवालमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले निर्वाचन नजिकिँदै जाँदा पत्रकारिताले नागरिकमा सुरक्षा अनुभूति दिलाउन योगदान गर्नुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालले संवेदनशील समयमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अझ महत्वपूर्ण हुने बताइन्। उनले आसन्न निर्वाचनलाई सुरक्षित ढंगले सम्पन्न गर्न सुरक्षा निकाय र सञ्चारमाध्यमबीचको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारिन्।
अधिकारकर्मी गीताञ्जली शर्माले रिपोर्टिङ गर्दा पीडित र पीडक दुवै पक्षको कुरा समेटिनुपर्नेमा जोड दिँदै मिथ्या र यथार्थ समाचार छुट्याउने चुनौती पत्रकार र पाठक दुवैका लागि बढ्दै गएको बताइन्।
अग्रज पत्रकार यज्ञ शर्माले सामाजिक सञ्जाल अहिले मूलधारका मिडियाभन्दा प्रभावकारी देखिन थालेको उल्लेख गर्दै यसले परम्परागत मिडियालाई चुनौती थपेको बताए। तर, मूलधारका मिडिया अझै पनि जिम्मेवार र विश्वसनीय भएकाले तिनलाई सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
अर्का अधिकारकर्मी विष्णु शर्माले सामाजिक सञ्जालले नकारात्मक र झुटा सूचनालाई बढावा दिइरहेको भन्दै त्यसले सर्वसाधारणलाई सही सूचनाबाट वञ्चित गरिरहेको बताइन्। उनले सही र गलत पत्रकारिताको भेद छुट्याउनु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरिन्।
अन्तरक्रियामा इन्टरनेसनल एलर्टका प्रतिनिधि प्रतिष्ठा थापा र रबिना श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले तथ्यमा आधारित समाचार, जिम्मेवार पत्रकारिता र सुरक्षा निकायसँगको समन्वय तथा सहकार्यबाट मात्र वर्तमान चुनौती सामना गर्न सकिने धारणा राखेका थिए।
