

विराटनगर / विराटनगर महानगरपालिका अन्तर्गत वडा नं. १५ स्थित रानी अस्पतालले नयाँ सेवाहरू सुरू गर्ने तयारी गरेको छ। यस अस्पतालले नियमित रूपमा सयौं बिरामीलाई ओपिडी सेवा दिँदै आएको छ र स्वास्थ्य बीमा लागू गरेको छ जसले बिरामीहरूलाई कम खर्चमा राम्रो उपचार प्राप्त गर्न मद्दत पुर्याउँछ।
अस्पतालले हाल फिजियो थेरापी र अल्ट्रासाउण्ड सेवाहरू सञ्चालनमा ल्याएको छ। थप रूपमा, बर्थिङ सेन्टर, डिजिटल एक्सरे, ल्याबोट्री लगायतका सेवाहरू चाँडै सुरू गरिने अस्पतालका प्रमुख मानिक चन्द भगतले जानकारी दिए।
अस्पतालमा दैनिक रूपमा सय भन्दा बढी बिरामी आउने गरेका छन्, विशेष गरी आइतबारका दिन बढी भीड लाग्ने गरेको डा. आस्तुती आर्चायले बताइन्। आम रूपमा रुगाखोकी, झाडापखाला, र ज्वरोका बिरामीहरू आउने गरेको उनले थप बताइन्।
विराटनगर महानगरपालिकाले रानी अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनका लागि विभिन्न योजनाहरू अघि बढाइरहेको छ। अस्पताललाई १५ शैय्याको अस्पताल बनाउने योजना रहेको मेयर नागेश कोईरालाले जानकारी दिए। नेपाल सरकारलाई यस सम्बन्धमा चिठ्ठी पठाइए पनि कुनै जवाफ नआएको अवस्थामा महानगर आफैले प्रक्रिया अगाडि बढाउने योजना छ। यसैगरी, करुणा फाउण्डेशनले अस्पताललाई भेन्टिलेटर उपलब्ध गराउने छ।
रानी अस्पतालले अन्य अस्पतालहरूको तुलनामा कम दरमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा एक्सरे र बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमति प्राप्त भएको र भवन निर्माण तथा सुधारका लागि टेन्डर लिइसकेको स्वास्थ्य प्रमुख दिलिप यादवले बताए। अस्पतालमा बिमा फार्मेसी सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढिसकेको उनले जानकारी दिए।