विराट ट्रेड एक्स्पोमा माङपाहाङ लावती कृषि उद्योगका किवीजन्य उत्पादनको आकर्षण

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, पुष १८, २०८२

विराटनगर।
विराटनगरमा सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पोमा पाँचथरस्थित माङपाहाङ लावती कृषि उद्योगका किवीजन्य उत्पादनहरूले दर्शक तथा उपभोक्ताको विशेष ध्यान खिच्न सफल भएका छन्। स्वदेशमै उत्पादन गरिएको किवी फललाई प्रशोधन गरी तयार पारिएका एक दर्जनभन्दा बढी सामग्री एक्स्पोको स्टलमार्फत बिक्री–वितरण भइरहेको छ।
एक्स्पोमा आउने भिजिटर तथा ग्राहकहरूलाई किवीका विभिन्न परिकार निःशुल्क चखाउने व्यवस्था गरिएको छ। किवीको जुस, स्क्वास, अचार लगायतका परिकार चाख्ने उपभोक्ताको स्टलमा उल्लेख्य भीड देखिएको छ।
माङपाहाङ लावती कृषि उद्योगबाट उत्पादन भएका किवीको जुस, किवी स्क्वास, किवीको सोमरस (वाइन), किवी तुलफुल, लालीगुराँस जुस, लालीगुराँस स्क्वास, किवी मिक्स अचार, किवी पेस्ट अचार, किवी जाम, अकबरे खुर्सानी तथा अकबरे खुर्सानीको अचारजस्ता सामग्रीहरू एक्स्पोमा बिक्री भइरहेको उद्योगकी सञ्चालिका जुनु लावतीले जानकारी दिइन्।
उद्योगका संस्थापक बलिन्द्रकुमार राईले करिब १२ वर्षसम्म वैदेशिक रोजगारीबाट आर्जन गरेको पूँजी लगानी गरी पाँचथरमा स्वदेशी कृषि उद्योग स्थापना गरेका हुन्। श्रीमान्–श्रीमती बलिन्द्रकुमार राई र जुनु लावतीले पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ मा करिब डेढ करोड रुपैयाँको लगानीमा माङपाहाङ लावती कृषि उद्योग सञ्चालन गर्दै आएका छन्।
उद्योगले पहाडी क्षेत्रमा ४५ रोपनी तथा तराई–मधेस क्षेत्रमा ३ बिघा जग्गामा कृषि उत्पादन गर्दै प्रशोधन उद्योगलाई अघि बढाएको छ। हाल माङपाहाङ लावती कृषि उद्योगका उत्पादनहरू पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ र सुनसरी जिल्लामा ब्रान्डका रूपमा स्थापित हुँदै गएका छन्।
सञ्चालिका जुनु लावतीका अनुसार नेपाली माटोमा उत्पादन भएको वस्तु नेपाली उपभोक्तासम्म पुर्‍याउने मुख्य उद्देश्यसहित उद्योग सञ्चालन गरिएको हो। “कोशी प्रदेशसहित देशभर लाग्ने एक्स्पो, मेला तथा महोत्सवमा सहभागिता जनाउँदै उत्पादनको प्रचार–प्रसार गरिरहेका छौँ,” उनले भनिन्।
हाल उद्योग प्रचार–प्रसारको चरणमा रहेकाले तत्काल नाफा भन्दा पनि ब्रान्ड स्थापित गर्ने लक्ष्य राखिएको उनले स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]