सहकारी मोरङमा नयाँ सत्ता संरचना
जिल्ला सहकारी संघको ३३औँ साधारणसभा भव्य, राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३औँ वार्षिक साधारणसभा विराटनगरस्थित श्रीकृष्ण होटलमा भव्य रूपमा सम्पन्न भएको छ । साधारणसभाबाट राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएसँगै संघको नेतृत्व संरचना औपचारिक रूपमा फेरिएको छ ।
संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो । कार्यक्रममा कोशी प्रदेश अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापा विशिष्ट अतिथि रहनु भएको थियो ।
सहकारी क्षेत्र संकटमा ? सुधारको कडा सन्देश
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सहकारी क्षेत्रमा देखिएका समस्या, विश्वास संकट र व्यवस्थापन कमजोरीप्रति कडा टिप्पणी गरेका थिए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक छत्रप्रसाद रिमाल, योगमाया सुवेदी, नेफ्स्कुनका सञ्चालक लक्ष्मी सापकोटा तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरी सुवेदीले पारदर्शिता, जवाफदेहिता र अनुशासन बिना सहकारी जोगिन नसक्ने स्पष्ट सन्देश दिएका थिए ।
निर्विरोध नेतृत्व चयन, सपथग्रहण तत्काल
साधारणसभाले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई निर्विरोध निर्वाचित गरेको हो । नयाँ अध्यक्ष राकेश दाहाल यसअघि संघका सचिवका रूपमा सक्रिय थिए । निर्विरोध चयनसँगै नवनिर्वाचित पदाधिकारीहरूले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, उपाध्यक्षमा संगीता दाहाल, सचिवमा अमृतबहादुर गुरुङ, सहसचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई. कमलेश्वर ठाकुर सर्वसम्मत चयन भएका छन् । १० लाखभन्दा बढी खुद नाफा, १ करोडभन्दा बढी ऋण लगानी
साधारणसभामा अध्यक्ष डा. डिल्ली पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघले आर्थिक वर्ष २०८१/८२ मा ३७ लाख ४१ हजार ५४२ रुपैयाँको कारोबार गर्दै १० लाख ८२ हजार ३५४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संघको सेयर पूँजी ४१ लाख रुपैयाँ नाघेको छ भने १ करोड ३१ लाख रुपैयाँभन्दा बढी ऋण लगानी रहेको तथ्य सार्वजनिक गरिएको छ ।
सहकारी अभियानमा प्रभावशाली सहभागिता
साधारणसभामा पूर्व सहकारी रजिस्ट्रारदेखि राष्ट्रिय सहकारी बैंकसम्मका उच्च तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पूर्व रजिस्ट्रार हरीबहादुर खत्री, नेफ्स्कुनका पूर्व सञ्चालक गोमा नेपाल सापकोटा, सल्लाहकारहरू ताराबहादुर काफ्ले, रामचन्द्र गौतम, डा. उद्धव पोखरेल, बिरेन्द्र यादव, अधिवक्ता राजेश सुब्बालगायतले सहकारी अभियानलाई सदस्यमुखी र जवाफदेही बनाउने विकल्प बाहेक अर्को बाटो छैन भन्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला बचत, उपभोक्ता र बहुउद्देश्यीय सहकारी संघका अध्यक्षहरू, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य, राष्ट्रिय सहकारी बैंकका प्रदेश तथा शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो ।
अब के गर्छ नयाँ नेतृत्व ?
नयाँ समितिले सहकारी संघलाई पारदर्शिता, सुशासन र आर्थिक अनुशासनको मार्गमा लैजाने प्रतिबद्धता जनाएको छ । सहकारी क्षेत्रमाथि बढ्दो प्रश्न र आलोचनाबीच मोरङ जिल्ला सहकारी संघको नयाँ नेतृत्वबाट ठोस कामको अपेक्षा गरिएको छ ।
