लड्केश्वर प्राविमा न्यानो लुगा वितरण : ४४ विद्यार्थी लाभान्वित

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, पुष २५, २०८२

लड्केश्वर प्राविमा न्यानो लुगा वितरण : ४४ विद्यार्थी लाभान्वित
काभ्रेपलाञ्चोक ।
जाडो मौसममा विपन्न तथा विद्यालय उमेरका बालबालिकालाई लक्षित गर्दै पनाैती नगरपालिका–११ स्थित लड्केश्वर प्राथमिक विद्यालय, वल्थलीमा सम्पूर्ण विद्यार्थीहरूका लागि न्यानो लुगा (स्वेटर र टोपी) ४४ सेट वितरण कार्यक्रम मिति २०८२ पौष २४ गते बिहीबार भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक रामेश्वर आचार्यको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा पनाैती नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विपेन्द्र लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन अर्यालले गर्नुभएको थियो।
कार्यक्रममा आयोजक संस्थाको तर्फबाट सार्वजनिक सरोकार (Public Concern) काभ्रेकी संयोजक सरस्वती कणेल, विद्यालयको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्नुहुने रमिला म्याम, अभिभावकहरू, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
न्यानो लुगा सहयोगमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी प्रिन्सिपल आदरणीय रेश्मा थापा, साथै पदम खुलाल र **रमिला केसी (हाल युके)**को महत्वपूर्ण योगदान रहेको थियो। कार्यक्रमको आयोजना तथा समन्वय सार्वजनिक सरोकार (Public Concern) पनाैती नगरपालिका–७, काभ्रेपलाञ्चोकले गरेको हो।
कार्यक्रममा सम्बोधन गर्दै प्रिन्सिपल रेश्मा थापाले शिक्षासँगै सामाजिक उत्तरदायित्व वहन गर्नु संस्थाको दायित्व भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि विद्यालय र विद्यार्थीहरूको हितमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको उक्त प्रतिबद्धताले विद्यालय परिवार र अभिभावकहरूमा थप उत्साह थपिएको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष विपेन्द्र लामाले विद्यालय शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै सरकारी संरचना मात्र नभई सामाजिक संघसंस्था र दाताहरूको सहकार्यबाट शिक्षा क्षेत्र बलियो बन्दै जाने धारणा व्यक्त गर्नुभयो। उहाँले लड्केश्वर प्राथमिक विद्यालयमा पछिल्लो समय देखिएको शैक्षिक सुधार र भौतिक विकासप्रति समेत प्रशंसा गर्नुभयो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन अर्याल तथा प्रधानाध्यापक रामेश्वर आचार्यले विद्यालयमा आफूहरूको कार्यकालमा आएको सकारात्मक परिवर्तन, सहयोगी हातहरूको निरन्तर साथ र समुदायको भूमिकालाई स्मरण गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो। साथै, कार्यव्यस्तताका बाबजुद कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिने सम्पूर्ण अतिथि, सहयोगी दाता तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुभयो।
सहकार्य, पारदर्शिता र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा सम्पन्न यस प्रकारका कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता आयोजक संस्थाले व्यक्त गरेको छ।
यस अवसरमा २०८० सालको विनाशकारी विपद्ले पनाैती नगरपालिका वडा नं. ११ लाई गम्भीर असर पारेको स्मरण गरिँदै, उक्त कठिन समयमा आफ्नै पहलमा समाजसेवी कर्मा लामाद्वारा तत्कालीन वडा सचिव सुनिल भण्डारीमार्फत राहत सामग्री सहयोग गरिएको विषयसमेत सार्वजनिक रूपमा स्मरण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]