डान इङ्गलिस मिडियम सेकेन्डरी स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
विराटनगर। विराटनगर–१ स्थित डान इङ्गलिस मिडियम सेकेन्डरी स्कुलले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोह प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूको आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरू, अभिभावक, शुभचिन्तक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रविधिमैत्री शिक्षामा जोड
कार्यक्रमको उद्घाटन PABSON Morang का अध्यक्ष जगत बहादुर बस्नेतले गरेका थिए। उनले समयअनुसारको गुणस्तरीय शिक्षाका लागि प्रविधिसँग जोडिएको शिक्षण पद्धति आवश्यक रहेको बताए।
“विद्यार्थीलाई दक्ष र प्रतिस्पर्धी नागरिक बनाउन शिक्षालाई प्रविधिमैत्री बनाउनु जरुरी छ,” उनले भने।
त्यसैगरी PABSON Biratnagar का अध्यक्ष अर्जुन श्रेष्ठ लगायत अन्य अतिथिहरूले विद्यालयको २१ वर्षे शैक्षिक यात्राको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
‘संस्कारसहितको शिक्षा’ प्राथमिकता
विद्यालयका प्रिन्सिपल हिरा थापा मगरले विद्यालय केवल किताबी ज्ञानमा सीमित नरही विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रहेको बताए।
“हामी विद्यार्थीको चौतर्फी विकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिन्छौँ। घरबाट प्राप्त संस्कार र विद्यालयबाट प्रदान गरिने ज्ञान तथा सीपको समन्वयले नै उज्ज्वल भविष्य निर्माण हुन्छ,” उनले भने।
उनले अभिभावकहरू बालबालिकाका पहिलो शिक्षक भएको उल्लेख गर्दै विद्यालय र अभिभावकबीचको सहकार्य, समझदारी र विश्वास नै सफल शिक्षाको आधार भएको धारणा राखे।
सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरण
समारोहमा विद्यार्थीहरूले नाटक, विभिन्न विधाका नृत्य, सुमधुर गायन तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी वातावरणलाई आकर्षक बनाएका थिए। विद्यालयले सञ्चालन गरेका आन्तरिक परीक्षा तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो।
विद्यालय प्रशासनले २१ वर्षको सफल यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ। कार्यक्रमको अन्त्यमा प्रिन्सिपल थापाले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सदाचारमार्फत उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर रहन प्रेरणा दिँदै अभिभावक दिवसको शुभकामना व्यक्त गरे।
मर्मस्पर्शी नाटकले छोयो सबैको मन
समारोहको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले ‘जेन्जी आन्दोलन’को पीडामा आधारित मर्मस्पर्शी नाटक प्रस्तुत गरेका थिए। भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसक्रममा घटेका घटनालाई केन्द्रमा राखेर तयार पारिएको उक्त नाटकले समसामयिक सामाजिक यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको थियो।
विद्यार्थीहरूको प्रभावशाली अभिनय, भावपूर्ण संवाद र यथार्थपरक प्रस्तुतीले कार्यक्रमस्थल केही समय सन्नाटामय बनेको थियो। धेरै अभिभावक तथा अतिथिहरू भावुक देखिन्थे।
विद्यालयकी संस्थापक सदस्य इन्दिरा गिरिले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै भनिन्, “विद्यार्थीहरूले अत्यन्तै मार्मिक र सशक्त अभिनय गरेका छन्। त्यो समयका घटनाहरू फेरि सम्झिँदा म भावुक भएँ।”