विराटनगर / आगामी फागुन २१ गते हुने निर्वाचन मिति नजिकिएसँगै मोरङमा उमेदवारहरुको सक्रियता अत्याधिक देखिएको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ उमेदवारकोहरुको दौडधुप अत्याधिक बढ्दै गएको छ । उमेदवारहरु आफनो मतदातासंग भेटघाट तथा मतदान आफनो पक्षमा ल्याउन सक्दो प्रयास गर्र्दै छन् । क्षेत्र ५ को राजनीतिक सरगर्मी बढेको छ । दल र स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारप्रसार अभियान सञ्चालन गरिरहेका छन् । यसै क्रममा राष्ट्रिय उर्जाशील पार्टी, नेपालले मोरङ्गमा ३ जना उमेदवार खडा गरिएको छ । मोरङ्ग क्षेत्र नम्बर २ मा मनोज कुमार राजवंशी, क्षेत्र नम्बर ३ मा भुवन कुमार वाग्ले र क्षेत्र नम्बर ५ मा केन्द्रीय अध्यक्ष योगेन्द्र मण्डल उमेदवार बनेका छन् ।
पार्टिको विस्तार र विकासको लागी आफ्नो संगठन विस्तार र जनपरिचालन अभियानलाई तिब्र बनाएको छ । चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन सो पार्टीले मोरङको रंगेली नगरपालिकाको रंगेली बजार र धनपालथान गाउँपालिकाको कर्सिया बजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यसअघि विराटनगरको रानीमा पार्टीले मुख्य चुनावी कार्यालय स्थापना गरेको थियो । पार्टीका केन्द्रीय अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार योगेन्द्र मण्डलले दुवै कार्यालयको उद्घाटन गरेका हुन् । २०७९ सालको आम निर्वाचनमा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर अत्याधिक मत ल्याई निर्वाचित भएका मण्डलले ‘जेनजी’ आन्दोलनको भावना र जनचाहनालाई सम्बोधन गर्न आफ्नै नेतृत्वमा ‘राष्ट्रिय उर्जाशील पार्टी’ गठन गरेका थिए । पार्टी गठन लगतै निर्वाचनमा होमिएको उर्जाशीलले संगठन विस्तार र चुनावी अभियानलाइ एकैसाथ अघि बढाएको छ ।
नयाँ सोचको संकल्प
प्रचारप्रसारका क्रममा पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष मण्डलले नयाँ सोच,नयाँ नेतृत्व र परिवर्तनको दृढ संकल्पको सुरुवात भएको बताए । उनले नेपालवादको सिद्धान्त लिएर निर्वाचनमा होमिएको बताउँदै । ‘हामी अब विभाजन होइन एकता, निराशा होइन आशा र भ्रष्टाचार होइन पारदर्शिताको राजनीति गर्नेछौं, उनले भने ।
भरखरै भएको कर्सिया बजारमा आयोजित सभामा उनले जनताले आफूमाथि गरेको विश्वासलाई कर्ममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,”स्वतन्त्र सांसदका रूपमा मैले सुरु गरेका अभियानलाई पार्टीगत शक्तिका साथ पुरा गर्नु मेरो लक्ष्य हो ।”
प्रचारप्रसारका क्रममा स्थानीय युवा, किसान, महिला, विभिन्न पेसाकर्मी तथा सामाजिक अगुवाहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको एक स्थानीयले बताए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरू राष्ट्रिय उर्जाशील पार्टीमा प्रवेश गरेका छन् । नव—प्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष मण्डलले उर्जाशील पार्टीले युवाहरूको जोस र पुरानाहरूको अनुभवलाई समेटेर अघि बढ्ने प्रचारप्रसारका क्रममा बताए ।