झापा–११ दोस्रो पटक नोबेल विराट गोल्डकप च्याम्पियन
विराटनगर । झापा–११ ले विराटनगरमा सम्पन्न ३८औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ। आइतबार सहिद रंगशालामा सम्पन्न फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि उचालेको हो।
उपाधिसँगै झापा–११ ले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो। यसअघि झापाले २०७१ सालमा पहिलो पटक यो प्रतियोगिताको उपाधि जितेको थियो।
प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ८१औं मिनेटमा राजेश दाहालले गोल गर्दै झापालाई अग्रता दिलाए। त्यसपछि ८७औं मिनेटमा दिवस उराउले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे। इन्जुरी समयमा सम्राटका सौरभ तामाङले एक गोल फर्काए पनि हार टार्न सकेनन्।
खेलभर दुवै टोलीले राम्रा अवसर सिर्जना गरेका थिए। पहिलो हाफमा सम्राटका सुरज तामाङको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरेका थिए भने झापाका केही प्रहार लक्ष्यभित्र जान सकेनन्। दोस्रो हाफमा भने झापा थप आक्रामक बनेको थियो।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए। प्रतियोगिताका अन्य विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो। फागुराम थारू सर्वाधिक गोलकर्ता बने भने विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए।
चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो। विजेता तथा उपविजेता टोलीलाई विभिन्न विशिष्ट व्यक्तिहरूले पुरस्कार वितरण गरेका थिए।