

विराटनगर/ रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले विराटनगरको हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले ‘रोपाइँ जात्रा’ को आयोजना गरी सडक किनारमा वृक्षारोपण अभियान सुरु गरेको छ। जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्मको सडकका दुवै किनारमा १५० वटा गमला राखेर विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, र आदर्श माविको व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले संयुक्त रूपमा यस कार्यक्रमको उद्घाटन गरेका थिए।
रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी प्रेसिडेन्ट जीना थापाले विराटनगरलाई हरियाली र सुन्दर बनाउन यो अभियान थालिएको बताइन्। उनले स्थानीय बासिन्दाहरूलाई पनि आफ्नो क्षेत्रको हरियालीमा योगदान पुर्याउन आह्वान गरिन्।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भट्टराईले वनजंगलको विनाशले मानव समुदायको अस्तित्व खतरामा परेको भन्दै वृक्षारोपण र संरक्षणको महत्वमाथि जोड दिए।
यसै अवसरमा, रोटरी क्लबकी इलेक्ट प्रेसिडेन्ट सुजु प्याकुरेल कोइरालाले भविष्यमा विराटनगरमा अन्य सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। आदर्श माविका विद्यार्थीहरूले पनि वृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए।
विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले स्थानिय बासिन्दाहरूले आफ्ना घर र पसल अगाडिका बिरुवाहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले भने, “विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउने भनेको यहीका नागरिकले हो।”