

विराटनगर/ विराटनगरमा यही भदौ ११ गते आयोजना हुन लागेको ९३ औं संस्करणको रथयात्राको तयारी भव्य रूपमा भइरहेको छ। रथयात्रालाई अझ आकर्षक बनाउनका लागि आयोजक समितिले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने योजना बनाएको छ। यसबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
भगवान श्रीकृष्णको जन्मोत्सवको भोलिपल्ट भव्यताका साथ रथ निकाल्ने परम्परा अनुसार यो रथयात्रा आयोजना हुँदैछ। समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार यस पटकको रथयात्रा अपराह्न ३ बजे सुरु हुनेछ। रथयात्रा पानीटेङ्कीबाट सुरु भई रोडशेष चोक, विराटनगर धरान सडक खण्ड हुँदै बर्गाछीस्थित पूर्ण राधाकृष्ण मन्दिरमा पुगेर टुंगिनेछ। यो रथयात्रा ९ किलोमिटर लामो हुनेछ र ६ घण्टामा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
रथयात्रालाई व्यवस्थित बनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ, जसमा १८ वटा उपसमितिहरू पनि गठन गरिने भएको छ। यसका लागि विभिन्न निकायहरूबाट आवश्यक सहयोगको पहल भइसकेको अध्यक्ष रेग्मीले जानकारी दिएका छन्। हालसम्म ४६ वटा झाँकी दर्ता भइसकेका छन् भने ६० भन्दा बढी झाँकीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
रथयात्राको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने तय भएको छ। एसियाकै ठुलो मानिएको यस रथयात्रामा ५ लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता हुने अनुमान गरिएको छ। साथै, यस पटकको रथयात्रामा व्यवसायीक विज्ञापनमा प्रतिबन्ध लगाइएको छ।