

विराटनगर/नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारदेखि कोशी प्रदेशमा आचार संहिता २०८१ लागू गरेको छ। यो आचार संहिता नेपाल सरकारले सुन चाँदी व्यवसाय सम्बन्धी ऐन निर्माण नगरेसम्म लागू हुनेछ। महासंघले प्रदेशका सुन चाँदी व्यवसायीहरुलाई आचार संहिताको पालना गर्दै कारोबार गर्नुपर्ने निर्देशन दिएको छ।
कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेशले आचार संहिता औपचारिक रूपमा लागू गरेको हो। कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइली, नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका केन्द्रिय अध्यक्ष किसान सुनार, र नेपाल हस्तकला महासंघका केन्द्रिय अध्यक्ष प्रचण्ड शाक्यले आचार संहितामा हस्ताक्षर गरे।
राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझा, र नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।
महासंघको प्रदेश स्तरीय कार्यक्रम नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको हो। महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दियेसरत्न शाक्यले आचार संहिताको शुभारम्भ गरेका थिए।
कोशी प्रदेशका सुन चाँदी व्यवसायीहरूको व्यापक सहभागिता रहेको कार्यक्रममा प्रदेश समितिका अध्यक्ष रमेश रसाइलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको स्वागत सम्बोधन कोशी प्रदेश समितिका उपाध्यक्ष तथा विराटनगर समितिका अध्यक्ष शशिभूषण साहले गरेका थिए।