

विराटनगर/ अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कन) प्रभुपाद विराटनगर शाखाले आगामी भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वलाई भव्य रूपमा मनाउने तयारी गरेको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा इस्कनका उपाध्यक्ष विनिस यादवले सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुने यस कार्यक्रममा ३० हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहने जानकारी गराए।
यस वर्षको जन्माष्टमी पर्वमा गत वर्षको तुलनामा अझ बढी भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। यादवले गत वर्षको रथ यात्रामा कम सहभागी भएका भक्तजनहरूको अनुभवलाई ध्यानमा राख्दै यस पटकको कार्यक्रममा भक्तजनहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे।
विशेषतः यस वर्षको कार्यक्रमको आकर्षणका रूपमा श्रीधाम जगरन्नाथ पुरीबाट परम् पुज्य श्रद्धये भक्ति निलाचल स्वामी महाराजको आगमन हुने भएको छ। महाराजज्यूको विशेष उपस्थितिमा कार्यक्रमलाई भव्य बनाउन आयोजकले विशेष तयारी गरेको छ। कार्यक्रममा स्वामी महाराजले विशेष कथा वाचन समेत गर्नुहुनेछ।
इस्कन प्रभुपाद विराटनगरका सचिव मनिष कुमार दासले कार्यक्रम बिहान ७:३० बजेदेखि राति १२:०० बजेसम्म सञ्चालन हुने बताए। यस अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको छ।
विराटनगर-१० ट्राफिक चौक नजिक रहेको इस्कनको पुरानो कार्यालयमा विगतदेखि नै भव्य रूपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने परम्परा छ। यस वर्ष पनि भक्तजनहरूको लागि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने आयोजकले जनाएको छ। यसमा भजनकीर्तन, प्रवचन, सांस्कृतिक नृत्य, रासलीलाजस्ता कार्यक्रमहरू समावेश गरिएका छन्।
विराटनगरका बासिन्दाहरूका लागि यो पर्व विशेष महत्वको मानिन्छ। भक्तजनहरूले भगवान श्रीकृष्णको पूजाआजा गर्दै रमाइलो गर्ने यस पर्वले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने विश्वास गरिन्छ।