

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने बताउनुभएको छ। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो।
मुख्यमन्त्री कार्कीले नेपाली काँग्रेसलाई सरकार विस्तारको प्रक्रियामा गति बढाउन आग्रह गर्दै काँग्रेसकै कारणले ढिलाइ भइरहेको स्पष्ट गर्नुभयो। उहाँले भने, “काँग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस्।”
सरकार विस्तारमा ढिलाइ हुँदा प्रदेश सरकारको काममा असर परेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जति छिटो सरकार विस्तार हुन्छ, उति नै सरकारले गति लिने बताउनुभयो। उहाँले वर्तमान सरकार शासकीय सुधारतर्फ लागिपरेको र विकासका योजनाहरूलाई तीव्रता दिने योजना रहेको पनि जानकारी दिनुभयो।
फरक प्रसंगमा, मुख्यमन्त्री कार्कीले सरकारको आलोचना गर्नेहरूलाई जवाफ दिँदै तथ्य बिना बोलेको वा अमर्यादित टिप्पणी गर्नेहरूलाई ध्यान नदिइ, सरकारलाई व्यवस्थित ढंगले अघि बढाउन केन्द्रित रहने धारणा व्यक्त गर्नुभयो। “अमर्यादित बोल्ने, तथ्य बिना बोल्ने सँग केही गर्न सकिँदैन। हामी हाम्रो काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्छौं,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री कार्कीले सरकार गतिशील र व्यवस्थित ढंगले अघि बढिरहेको बताउँदै, कसैको टिप्पणीलाई महत्व नदिइ सरकारको लक्ष्य हासिल गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।