कोशी प्रदेशमा १ करोड रुपैयाँको लागतमा विराटनगरमा कृषि एक्स्पो आयोजना हुने

Logo
सरिता कर्मकार प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले १ करोड रुपैयाँ खर्चेर विराटनगरमा कृषि एक्स्पो २०८१ आयोजना गर्न लागेको छ। भाद्र २७ गतेदेखि सुरु हुने ४ दिने एक्स्पो मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा सम्पन्न हुनेछ, जो कोशी प्रदेशको राजधानी विराटनगरसँग सिमाना जोडिएको छ। एक्स्पो भाद्र ३० गतेसम्म चल्नेछ।

महासंघको कोशी प्रदेश समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एक्स्पोको बारेमा जानकारी गरायो। समितिका अध्यक्ष राजेन्द्र राउतले नेपाल र भारतका १५ जना कृषि विशेषज्ञको सहभागितामा कृषिमा नवीनतम प्रविधि र किसानलाई फाइदा पुर्‍याउने विषयमा वृहत छलफल गरिने जानकारी दिए।

कृषि एक्स्पोमा ५ वटा ब्लकमा विभाजन गरिएको छ। ‘ए’ ब्लकमा पशुपन्छी, ‘बी’ ब्लकमा कृषि, ‘सी’ ब्लकमा मेसिनरी, ‘डी’ ब्लकमा फुड स्टल र ‘ई’ ब्लकमा गोष्ठी तथा परामर्श सेवाका कार्यक्रम सञ्चालन हुनेछ। एक्स्पोमा भारतका २० सहित १३० भन्दा बढी स्टल राखिनेछ। नेपाल र भारतका कृषि विज्ञहरूद्वारा विभिन्न विषयमा संवाद तथा छलफल कार्यक्रमहरू सञ्चालन हुनेछन्।

नवीनतम औजार, प्रविधि र उन्नत जातका पशुपन्छी प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञानशिप, र कृषि विज्ञसँग छलफल कार्यक्रम एक्स्पोका मुख्य आकर्षण हुनेछन्। पहाडी जिल्लाका किसानलाई पनि एक्स्पोमा सहभागी गराई उनीहरूलाई ल्याउन र फर्काउनको सम्पूर्ण खर्च महासंघले व्यहोर्ने जानकारी अध्यक्ष राउतले दिए।

पत्रकार सम्मेलनमा कोशी प्रदेश समितिका कोषाध्यक्ष सुभाष आचार्य सहित अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]