

विराटनगर/जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रिहा भएपछि सरकारलाई कडा चुनौती दिएका छन्। रिहा भएलगत्तै आफ्ना कार्यकर्ताहरूमाझ भाषण गर्दै उनले राजनीतिमा औपचारिक रूपमा प्रवेश गरेको घोषणा गरे।
प्रसाईंलाई अदालतले तारेखमा छोडेपछि कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। उनले सम्बोधनका क्रममा आफूलाई राजनीतिक रूपमा सिध्याउन षड्यन्त्र गरिएको आरोप लगाउँदै भने, “मलाई एकजना महिलालाई गाली गरेको आरोपमा पक्राउ गरियो, तर मैले कसैको नामसमेत लिएको थिइनँ। मलाई लगेपछि नेताहरूको बारेमा सोधियो, तर अदालतले सबै प्रश्नहरूको जवाफ पाएपछि रिहा गरेर ‘आमाको भूमिका’ निभायो।”
प्रसाईंले आफ्नो भाषणमा आफू सर्वहाराको पक्षमा लड्ने व्यक्ति भएको दाबी गर्दै भने, “मेरो बोली नै हतियार हो। यो आवाज मरे तपाईंहरूको पक्षमा बोल्ने कोही हुनेछैन। दुर्गा प्रसाईं न त बिक्छ, न झुक्छ, न हार्छ।”
हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रसाईंले वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरेको गुनासो पनि गरे। उनले भने, “म क्यान्सर सर्भाइभर हुँ, दुई पटक क्यान्सरको अपरेसन भएको छ। अस्पतालमा उपचार गराउने मेरो मानव अधिकार थियो, तर वीर अस्पतालले मलाई अनावश्यक दबाब दिँदै डिस्चार्ज गरिदियो।”
उनले आफ्नो लडाइँ प्रधानमन्त्रीसँग रहेको बताएर सरकारलाई थप चुनौती दिएका छन्।